काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतासँग सम्बन्ध कायम गर्न विशेष रुपान्तरण अभियान सञ्चालन गर्ने बताएका छन्। आइतबार पार्टी केन्द्रीय समितिको बैठक समापन गर्दै उनले जनताको एउटा पनि घर नछाडी गुनासो र आलोचना सुन्ने बताए।
जनताको गुनासो र आलोचना सुन्ने, शहिद परिवारको आफन्तलाई भेट्ने अभियान थाल्ने उनको भनाइ थियो। उनले आफूहरू कुनै पनि विधि र पद्दतिभन्दा बाहिर नगई काम गर्ने बताए। माओवादी नेताहरू विचार र राजनीतिमा मात्रै नभई भावनात्मक रुपले पनि एकजुट भएको भन्दै उनले एक ढिक्का भएर मुख्य नेतृत्वको वरिपरि गोलबन्द भएर जनतासँग सम्बन्ध कायम गरेर जाने भनाइ राखे।
संघीय गणतन्त्र लगायतका परिवर्तनहरूको स्वामित्व लिनेगरी माओवादी नेताहरू भावनात्मक रुपले पनि एकजुट भएको उनले बताएका छन्।
'अहिले सरकारले थालेका सकारात्मक कामहरू जनतासम्म स्थापित गरेर, संघीय लोकतान्त्रिक गणतन्त्रलगायतका परिवर्तनको स्वामित्व लिनेगरी जनतासमा जान हामी विचार र राजनीतिमा मात्रै सर्वसम्मत भएका छैनौँ, भावनात्मक रुपले पनि एकजुट भएका छौँ,' उनले भने।
बीचमा आफूहरू केही अन्योलमा परे पनि माओवादी जनताको भावना र चाहनालाई सम्बोधन गर्न जस्तोसुकै त्याग, तपस्या र बलिदानी गर्न पछि नहट्ने पार्टी भएकाले फेरि जाग्ने उनले बताए। 'हामी युगान्तकारी परिवर्तनको नेतृत्व गर्ने पार्टी हौँ। जनताको भावना र चाहनलाई सम्बोधन गर्न जस्तोसुकै त्याग तपस्या र बलिदानी गर्न पछि नपर्ने पार्टी हौँ,' उनले भने, 'बीचमा कताकता हामी केही अन्योलमा परेको जस्तो भएको थियो। यो बैठकले देश र पार्टीलाई नयाँ उज्यालो दिएको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।