काठमाडौं– नेकपा एकीकृत समाजवादीका नेताहरुले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
काठमाडौंको आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार जारी स्थायी कमिटी बैठकमा बोल्ने नेताहरुले संसद्को गरिमा कायम हुनेगरी भूमिका निर्वाह हुन नसकेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
उनीहरुले संसद् बैठक नै बस्न नदिने काम गरिरहेको भन्दै एमालेको पनि आलोचना गरेका थिए। संसद्को भूमिकालाई प्रभावकारी बनाउन नसकेकोमा पार्टी नेतृत्वमाथि पनि बैठकमा प्रश्न उठाइएको पार्टीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए। संसद् बैठक नै बस्न नसक्ने अवस्था सृजना गरेर एमालेले बेठिक गरेको कुरा बैठकमा नेताहरुले राखेको उनले बताए।
उपमहासचिव तुलाधरले भने, ‘संसद्लाई संसद् जस्तो गरिमामय बनाउने हिसाबले विषयवस्तुको उठान गर्नेजस्तो कुरा त्यहाँ हुन सकेन भनेर भन्ने खालको कुरा र हाम्रो पार्टीले पनि के भूमिका गर्यो त? हाम्रो पार्टीको भूमिका पनि त कति प्रभावकारी हुन सक्यो भन्ने सवालमा पनि कुरा उठेका छन्। त्यसैले संसद्को गतिरोध जुन विषयमा उत्पन्न भएर, जुन विषयलाई निहुँ बनाएर भइरहेको छ। त्यो गतिरोध त्यसरी उत्पन्न गर्ने खालको कुरा होइन। सदनको एक मिनेटको विजनेश भनेको पनि असाध्यै महत्त्वपूर्ण कुरा हुन्छ। अब त्यो चाँहि प्रतिपक्षले जे गरिरहेको छ, त्यो बेठिक गरिरहेको छ भन्ने तहबाट पनि कुरा उठेका छन्।’
शनिबारदेखि सुरु भएको पार्टी स्थायी कमिटीको बैठकमा पार्टीको आसन्न १०औं महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनको विषयमा केन्द्रित भएर छलफल भइरहेको छ।
एकीकृत समाजवादीले पार्टीको आसन्न १०औं महाधिवेशन आगामी माघमा सम्पन्न हुने गरी आवश्यक तयारी गर्न यसअघि पार्टीको सचिवालय बैठक बोलाएको थियो। उपमहासचिव तुलाधरका अनुसार अब भदौं पहिलो साता बस्ने पोलिटब्यूरो र केन्द्रीय समिति बैठकले त्यसबारे ठोस योजना तय गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।