काठमाडौं- नेकपा एकीकृत समाजवादीको जारी स्थायी कमिटी बैठकमा सम्मानीत नेता झलनाथ खनालले फरक मत राखेपछि अध्यक्ष माधव नेपालनिकट नेताले उनलाई राजनीतिबाट विश्राम लिन सुझाव दिएका छन्। पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले खनाललाई लक्षित गर्दै खनालले अब राजनीतिबाट विश्राम लिनुपर्ने बेला भएको उनले बताएका छन्।
बैठक चलिरहेकै बेला उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'समयको माग के छ- सम्मानमाथि उच्च सम्मान छ। साथै राजनितिमा अब विश्राम लिनूहोस्। जनताले सम्मानका साथ विश्राम लिनका लागि जनादेश दिएका छन्, यो जनमतलाई नभुल्नु होला जनताको आदेशलाई।'
खनालले पहिले जबजलाई दक्ष प्रजापतिको टाउको जस्तो भनेको र अहिले आफैले स्थापना गरेको नेकपा एसलाई रावणको टाउको जस्तो देखेको अभिव्यक्ति दिएको भन्दै पराजुलीले आक्रोश व्यक्त गरेका छन्। उनले भनेका छन्, 'पहिला- जनताको बहुदलीय जनवादलाई दक्ष प्रजापति टाउको जस्तो देख्ने र भन्ने गर्नुभयो। अहिले- लामो समयपछि फेरि आफू नै शीर्ष भन्दा शीर्ष ठाउँमा बसेर आफूले नै निर्माण गरेको आन्दोलन र पार्टीलाई रावणको टाउको देख्न र भन्न थाल्नु भयो यस्तो खाले दृष्टिभ्रम कहिले सम्म रहन्छ?'
समाजवादी यात्राका लागि युवालाई स्थान छाडिदिन पनि खनाललाई उनले आग्रह गरेका छन्।
खनालले आइतबारको स्थायी कमिटी बैठकमा नेता-कार्यकर्ता एमालेमा फर्किने क्रम बढेको भन्दै गम्भीर हुनुपर्ने बताएका थिए। बैठकमा 'वर्तमान परिस्थिति र हामीले ध्यान दिनुपर्ने ज्वलन्त विषयहरू' नामक दस्तावेज प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन्।
दस्तावेजमा उनले आफ्नो पार्टी र विद्रोह गरिएको पार्टी एमालेबीच सैद्धान्तिक र नीतिगत सवालमा भिन्नता देखाउन नसकिएको उल्लेख गरेका छन्। खनालले भनेका छन्, 'हाम्रो पार्टीमा पनि जबजकै धङधङी छ र (एमाले)मा पनि जबज कै धङधङी छ। त्यसले गर्दा पनि ठूलो संख्यामा विद्रोह गरेर अघि आएका नेता/कार्यकर्ताहरु वैचारिक-सैद्धान्तिक भिन्नता नदेखेर एमालेमा फर्किने क्रम देखिन्छ। किन यस्तो भइरहेको छ? हामी भित्र कहाँ कमजोरी छ? कुन कमजोरीका कारणले यस्तो भइरहेको छ?'
उनले पार्टीको संगठनात्मक संरचनामाथि पनि सवाल गरेका थिए। पार्टीको संरचना हेर्दा रावणको जस्तो माथि धेरै टाउको, तल सुक्दै गएको शरीर जस्तो रहेको टिप्पणी उनले गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।