काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले नेता-कार्यकर्ता एमालेमा फर्किने क्रम बढेको भन्दै गम्भीर हुनुपर्ने बताएका छन्। आइतबार पार्टीको स्थायी कमिटी बैठकमा 'वर्तमान परिस्थिति र हामीले ध्यान दिनुपर्ने ज्वलन्त विषयहरु' नामक दस्तावेज प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन्।
आफ्नो पार्टी र विद्रोह गरिएको पार्टी एमालेबीच सैद्धान्तिक र नीतिगत सवालमा भिन्नता देखाउन नसकिएको उनले उल्लेख गरेका छन्। खनालले भनेका छन्, 'हाम्रो पार्टीमा पनि जबजकै धङधङी छ र (एमाले)मा पनि जबज कै धङधङी छ। त्यसले गर्दा पनि ठूलो संख्यामा विद्रोह गरेर अघि आएका नेता/कार्यकर्ताहरु वैचारिक-सैद्धान्तिक भिन्नता नदेखेर एमालेमा फर्किने क्रम देखिन्छ। किन यस्तो भइरहेको छ? हामी भित्र कहाँ कमजोरी छ? कुन कमजोरीका कारणले यस्तो भइरहेको छ?'
उनले पार्टीको संगठनात्मक संरचनामाथि पनि सवाल गरेका छन्। पार्टीको संरचना हेर्दा रावणको जस्तो माथि धेरै टाउको, तल सुक्दै गएको शरीर जस्तो रहेको टिप्पणी गरेका छन्।
'हाम्रो पार्टी यतिबेला माथि रावणको टाउको जस्तो र तल सुक्दै झिनु भएर उभिन पनि गाह्रो पर्ने अवस्थामा भएको महसुस हुन्छ। त्रिपाई जस्तो माथि फुकेको तल सुकेको पार्टी संगठन छ। हुनुपर्ने ठिक उल्टो हो,' उनले भनेका छन्।
विद्रोह गर्दा पार्टी पंक्तिमा निकै ठूलो उत्साह र उमङ्ग रहे पनि आज त्यो नभएको उनले प्रष्ट बताएका छन्। त्यो शक्ति समेत गुमेको भन्दै खनालले थपेका छन्, 'विद्रोह गर्दा हामीसँग जुन शक्ति थियो, आज त्यो पनि छैन। विद्रोह गरेको बेला युवा र विद्यार्थीहरुमा जुन उत्साह, जाँगर र अठोट थियो, आज यी क्षेत्रमा त्यो देखिँदैन। उनीहरु दिशाहीन जस्तो महसुस गरिरहेका छन्। तर अझै पनि उनीहरु पार्टीले सही नीति ल्याउँछ कि भनेर पर्खिरहेका छन्।'
विद्रोह गर्दा राष्ट्रिय पार्टी मानिएकोमा आज त्यो नरहेको उनको भनाइ छ। स्थानीय चुनावमा मात्र पनि हाम्रो पार्टीले ६ लाख मत पाएकोमा राष्ट्रिय चुनावमा आउँदा ३ लाख पनि नघाउन नसक्ने विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने खनालको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।