काठमाडौं– बंगलादेशमा डेंगु रोगको संक्रमण नियन्त्रण बाहिर गएको छ। शुक्रबार बेलुकीदेखि शनिबार बेलुकासम्म, २४ घण्टाको अवधिमा मात्रै डेंगु संक्रमणका कारण १० जनाको मृत्यु भएको छ।
विभिन्न अस्पतालमा गरी अहिले करिब ९ हजार ३३४ डेंगुका बिरामी अपचाररत रहेका त्यहाँको स्वास्थ्य सेवा महानिर्देशनाले जानकारी दिएको छ।
महानिर्देशनालयले दिएको जानकारी अनुसार राजधानी शहर ढाकामा मात्रै ४ हजार ६८० डेंगु बिरामीहरू अस्पतालमा भर्ना भएका छन्। ढाका बाहिरका विभिन्न अस्पतालहरुमा ४ हजार ६५४ बिरामी उपचाररत छन्।
डेंगु संक्रमणबाट यो वर्ष मात्र ३०३ जनाको मृत्यु भइसकेको छ। स्वास्थ्य विज्ञहरूले यो महिना र अर्को महिनामा डेंगुको अवस्था बिग्रन सक्ने चेतावनी दिँदै सबै प्रकारका लामखुट्टेविरुद्ध व्यापक अभियान चलाउन अधिकारीहरूलाई आग्रह गरेका छन्।
बंगलादेशमा वर्षाको मात्रा, तापक्रम र आद्रताको विश्लेषण गर्दै विज्ञहरुले एडिस लामखुट्टेको प्रजननका लागि अगस्ट र सेप्टेम्बर महिना नै सबैभन्दा उपयुक्त हुने निष्कर्ष निकालेका छन्।
हालसम्म विश्वमा धेरै देशमा डेंगुको संक्रमण देखिएको छ। एसियाका १२ बढी देशमा डेंगु संक्रमण फैलिरहेको छ।
नेपालमा अहिले डेंगुको संक्रमण ७१ जिल्लामा फैलिएको छ। शुक्रबार साँझ सम्मको तथ्याङ्कअनुसार देशभर करिब ७ हजार २५३ डेंगुका बिरामी फेला परेका छन् । जसमा कोशी प्रदेशमा सबैभन्दा बढी ५ हजार १०१ बिरामी छन्।
बागमती प्रदेशमा १ हजार १७१, गण्डकी प्रदेशमा ३८९, सुदूरपश्चिम प्रदेशमा ३४२, लुम्बिनी १९१, मधेस ३२ र कर्णाली प्रदेशमा २७ जना संक्रमित रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।