काठमाडौं- सुञ्चार, सूचना तथा प्रविधि मन्त्री तथा सरकारको प्रवक्ता रेखा शर्माले जनताको पक्षमा उभिँदा सरकार कमजोर हुने सम्भावना नरहेको बताएकी छिन्।
शनिबार माओवादी केन्द्रको बैठकमा सहभागी भएर बाहिरिँदै गर्दा शर्माले सरकार कति दिन रहन्छ भन्नेमा आफूहरुको सरोकार नरहेको बताइन्।
'सरकार कति रहन्छ वा रहँदैन भन्नेतिर हाम्रो चिन्ता, चासो वा सरोकार छैन। जनताको पक्षमा उभिँदै गर्दा सरकार कमजोर हुने भन्ने हामीले सम्भावना देखेका छैनौँ। त्यो सम्भावना पनि छैन', उनले भनिन्। उनले सरकार दुई वा तीन दिन रहे पनि आफूहरुले दृढतापूर्वक काम गर्ने बताइन्। 'विकृति र विसंगतिका विरुद्धमा उभिने हो। भोलि समाजवादमा जाने आधार तयार गर्ने हो। त्यो काममा सरकार प्रतिबद्ध छ। हामी त्यसमा लाग्छौँ', उनले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।