काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षान पुन अनन्तले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह पैदा गरेको बताएका छन्।
राजधानीमा जारी पार्टी केन्द्रीय समिति बैठकमा शनिबार बोल्दै पुनले जस्तोसुकै अप्ठ्यारो परिस्थिति आए पनि भ्रष्टाचार र बेथितिविरुद्ध थालिएको अभियान बीचैमा नरोकिने र रोक्न नहुने बताए। पुनले आफ्नै दलभित्र पनि कोही भ्रष्टाचारमा संलग्न भएको पुष्टि भए उन्मुक्ति दिन नहुनेमा जोड दिए।
‘सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह पैदा गराएको छ। अध्यक्ष कमरेड तपाईंको अभियानमा हाम्रो दह्रो साथ छ’, उनले भने, ‘कुनै पनि हालतमा यो अभियान रोकिँदैन र रोकिनु हुँदैन। छानबिन गर्दा पार्टीकै कोही नेता परे पनि सजाय भोग्न तयार हुनुपर्छ। यो अभियानले हामी कसैको बलिदान माग्छ भने पनि तयार हुनुपर्छ।'
उनको प्रष्टीकरण सय केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मुलका बेल्जियन नागरिक दावा छिरिङसँग आठ वर्षअघि खिचेको सामूहिक तस्बीरलाई लिएर आफूबारे उठेको प्रश्नप्रति लक्षित थियो।
गृह जिल्ला रोल्पाकी शहिद परिवारकी सदस्य एवं पार्टी कार्यकर्ता अमला रोका मगरले दावासँग विवाह गरेर चिनजानका लागि ल्याउँदा खिचिएको तस्बीरलाई लिएर अनर्थ लगाइएको प्रष्टीकरण पुनले यसअघि नै दिइसकेका थिए।
बैठकमा पुनले सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानलाई पार्टी पुनःनिर्माणको मौकाको रुपमा सदुपयोग गर्नुपर्ने बताए। भ्रष्टाचारविरुद्ध चालिएका कदम देश, समाज र पार्टीको समेत शुद्धीकरण अभियान भएको उनको भनाइ थियो।
यसैगरी उनले प्रचण्डको विकल्प कसैले नखोजेको भन्दै उत्तराधिकारी निर्माणबारे विधिको विकास गर्नुपर्ने बताए। ‘अहिले कसैले अध्यक्षको विकल्प खोजेको छैन। अध्यक्षलाई सम्पूर्ण रूपले सहयोग गरेर जान म तयार छु’, उनले भने, ‘उत्तराधिकारी तयार पार्न विधिको विकास गरेर जाऔँ।’
पुनले पार्टीमा विद्यमान समस्या विचारको नभई विधिको भएको चर्चा गरे। पार्टी संगठनमा तीन एक(पाका, प्रौढ र युवा)को नीति लागू गर्नुपर्ने विचार पुनले राखे। पार्टीमा देखिएका समस्याको समाधान आगामी विधान सम्मेलनबाट हल गर्न उनले प्रस्ताव राखे। पार्टी पुनर्निर्माणको ऐतिहासिक सम्भावना रहेको चर्चा गर्दै पुनले वर्गसंघर्ष र राजनीतिक संघर्षको रुप फेरिएको बताए।
यस्तो अवस्थामा सरकार प्रमख मोर्चा भएको निस्कर्ष उनको थियो। उनले डिजिटल युग सुहाउँदो पार्टी बनाउनुपर्ने प्रस्ताव पनि बैठकमा राखे।
फरक प्रसंगमा उनले आफू लामो समय स्वास्थ्य उपचारमा संलग्न हुनुपरेका कारण पार्टी नेता कार्यकर्ताका बीचमा उपस्थित हुन नसकेको स्मरण गरे। पार्टीअध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा चीनमा उपचार गराएर फर्किएको र पूर्ण स्वस्थ भएको जानकारी केन्द्रीय समितिलाई गराए।
अर्का उपमहासचिव जनार्दन शर्माले पार्टी महासचिवमा वर्षमान पुन र आफूमध्ये जसलाई बनाए पनि मान्य हुने अनुरोध गर्दागर्दै अर्को प्रस्ताव अघि सारिएको भन्दै असन्तुष्टि जनाए।
'हामी तपाइकै हौँ, दुई जना(वर्षमान पुन र उनी) मध्ये महासचिव जसलाई बनाए पनि हामीलाई मान्य हुन्छ भनेर अनुरोध गर्दा पनि नयाँ प्रस्ताव अघि सारिन्छ। सोही प्रस्तावलाई सहज रूपमा स्वीकार गर्दा पनि अनेकन् प्रचारबाजी गरिन्छ। अनि गरौँ के?,' शर्माले भने।
उनले अध्यक्षले चाहेको परिस्थितिमा खटनपटनमा लागेको बताएका छन्। उनले अध्यक्षकै आग्रहमा आफ्नो मत थाती राखेर भए पनि सभामुख र राष्ट्रपति एउटै पार्टीको बनाए थप समस्या आउँछ भनेर बोलेको र वातावरण बनाएको बताए।
'परिस्थिति अदल बदल गर्नुपर्दा वा अन्य कुनै संकट आइपर्दा सधैँ अध्यक्षको पक्षमा खडा भएकै छ,' शर्माले भने, 'होला कहिलेकाहीँ आँखा जुधाएर कुरा गर्न मन लाग्छ, गरिन्छ पनि। तर त्यसैलाई असहयोग गर्यो भनेर नेतृत्वको आडमा नानाथरी बिल्ला भिराएर प्रचारबाजी गरिन्छ।'
उनले अध्यक्ष प्रचण्डलाई कुनचाहिँ अप्ठेरो मोडमा आफ्नो साथ र समर्थन नपाएको नभनिदिन आग्रह गरेका थिए।
पार्टीलाई विधिसम्मच चलाउन विधान नमिच्ने संकल्प गर्नुपर्ने उनको भनाइ थियो। पार्टीभित्र मनोनयनको सट्टा निर्वाचन प्रक्रिया सुरु गर्नुपर्ने भनाइ उनले राखे।
'पार्टीभित्र आलोचना र आत्मालोचना गर्ने, लागेका कुरा छलफल गरी सही वा गलत के हो भन्ने कुरा स्पष्ट गर्ने, नेतृत्वले एक वा अर्कोलाई विश्वासका आधारमा व्यवहार गर्ने पद्धतिको विकास गर्नुपर्छ,' उनले भने।
उनले पार्टीलाई पूर्णतः डिजिटल बनाइनुपर्ने, डिजिटल पुस्तालाई पार्टीमा भर्ती गर्नेमा पनि जोड दिए। यसरी उत्तराधिकारीको लामबन्दी तयार गरिनुपर्ने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।