काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी महासचिवमा बर्षमान पुन र आफूमध्ये जसलाई बनाए पनि मान्य हुने अनुरोध गर्दागर्दै अर्को प्रस्ताव अघि सारिएको भन्दै असन्तुष्टि जनाएका छन्।
'हामी तपाइकै हौँ, दुई जना(वर्षमान पुन र उनी) मध्ये महासचिव जसलाई बनाए पनि हामीलाई मान्य हुन्छ भनेर अनुरोध गर्दा पनि नयाँ प्रस्ताव अघि सारिन्छ। सोही प्रस्तावलाई सहज रूपमा स्वीकार गर्दा पनि अनेकन् प्रचारबाजी गरिन्छ। अनि गरौँ के?,' शर्माले भने।
उनले अध्यक्षले चाहेको परिस्थितिमा खटनपटनमा लागेको बताएका छन्। उनले अध्यक्षकै आग्रहमा आफ्नो मत थाती राखेर भए पनि सभामुख र राष्ट्रपति एउटै पार्टीको बनाए थप समस्या आउँछ भनेर बोलेको र वातावरण बनाएको बताए।
'परिस्थिति अदल बदल गर्नुपर्दा वा अन्य कुनै संकट आइपर्दा सधैँ अध्यक्षको पक्षमा खडा भएकै छ,' शर्माले भने, 'होला कहिलेकाहीँ आँखा जुधाएर कुरा गर्न मन लाग्छ, गरिन्छ पनि। तर त्यसैलाई असहयोग गर्यो भनेर नेतृत्वको आडमा नानाथरी बिल्ला भिराएर प्रचारबाजी गरिन्छ।'
उनले अध्यक्ष प्रचण्डलाई कुनचाहिँ अप्ठेरो मोडमा आफ्नो साथ र समर्थन नपाएको नभनिदिन आग्रह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।