काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षान पुन अनन्तले अहिले पार्टीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्प नभएको बताएका छन्। पुनले प्रचण्डको विकल्प कसैले नखोजेको भन्दै उत्तराधिकारी निर्माणबारे विधिको विकास गर्नुपर्ने बताए।
‘अहिले कसैले अध्यक्षको विकल्प खोजेको छैन। अध्यक्षलाई सम्पूर्ण रूपले सहयोग गरेर जान म तयार छु’, उनले भने, ‘उत्तराधिकारी तयार पार्न विधिको विकास गरेर जाऔँ।’
पुनले पार्टीमा विद्यमान समस्या विचारको नभई विधिको भएको चर्चा गरे। पार्टी संगठनमा तीन एक(पाका, प्रौढ र युवा)को नीति लागू गर्नुपर्ने विचार पुनले राखे। पार्टीमा देखिएका समस्याको समाधान आगामी विधान सम्मेलनबाट हल गर्न उनले प्रस्ताव राखे। पार्टी पुनर्निर्माणको ऐतिहासिक सम्भावना रहेको चर्चा गर्दै पुनले वर्गसंघर्ष र राजनीतिक संघर्षको रुप फेरिएको बताए।
यस्तो अवस्थामा सरकार प्रमख मोर्चा भएको निस्कर्ष उनको थियो। उनले डिजिटल युग सुहाउँदो पार्टी बनाउनुपर्ने प्रस्ताव पनि बैठकमा राखे।
फरक प्रसंगमा उनले आफू लामो समय स्वास्थ्य उपचारमा संलग्न हुनुपरेका कारण पार्टी नेता कार्यकर्ताका बीचमा उपस्थित हुन नसकेको स्मरण गरे। पार्टीअध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा चीनमा उपचार गराएर फर्किएको र पूर्ण स्वस्थ भएको जानकारी केन्द्रीय समितिलाई गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।