काठमाण्डौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षान पुन अनन्तले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह पैदा गरेको बताएका छन्।
राजधानीमा जारी पार्टी केन्द्रीय समिति बैठकमा शनिबार बोल्दै पुनले जस्तोसुकै अप्ठ्यारो परिस्थिति आए पनि भ्रष्टाचार र बेथितिविरुद्ध थालिएको अभियान बीचैमा नरोकिने र रोक्न नहुने बताए। पुनले आफ्नै दलभित्र पनि कोही भ्रष्टाचारमा संलग्न भएको पुष्टि भए उन्मुक्ति दिन नहुनेमा जोड दिए।
‘सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह पैदा गराएको छ। अध्यक्ष कमरेड तपाईंको अभियानमा हाम्रो दह्रो साथ छ’, उनले भने, ‘कुनै पनि हालतमा यो अभियान रोकिँदैन र रोकिनु हुँदैन। छानबिन गर्दा पार्टीकै कोही नेता परे पनि सजाय भोग्न तयार हुनुपर्छ। यो अभियानले हामी कसैको बलिदान माग्छ भने पनि तयार हुनुपर्छ।'
उनको प्रष्टीकरण सय केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मुलका बेल्जियन नागरिक दावा छिरिङसँग आठ वर्षअघि खिचेको सामूहिक तस्बीरलाई लिएर आफूबारे उठेको प्रश्नप्रति लक्षित थियो।
गृह जिल्ला रोल्पाकी शहिद परिवारकी सदस्य एवं पार्टी कार्यकर्ता अमला रोका मगरले दावासँग विवाह गरेर चिनजानका लागि ल्याउँदा खिचिएको तस्बीरलाई लिएर अनर्थ लगाइएको प्रष्टीकरण पुनले यसअघि नै दिइसकेका थिए।
बैठकमा पुनले सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानलाई पार्टी पुनःनिर्माणको मौकाको रुपमा सदुपयोग गर्नुपर्ने बताए। भ्रष्टाचारविरुद्ध चालिएका कदम देश, समाज र पार्टीको समेत शुद्धीकरण अभियान भएको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।