काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सत्ता स्वार्थमा मात्रै केन्द्रित भएको टिप्पणी गरेका छन्।
पार्टीको परराष्ट्र मामिला विभागले शनिबार काठमाडौंमा आयोजना गरेको ‘वर्तमान अन्तराष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीति सम्बन्धि नेकपा (एमाले) को धारणा’ विषयक विचार गोष्ठीमा अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालको भारत भ्रमणमा राष्ट्रिय स्वार्थप्रधान नभई सत्तास्वार्थ मात्रै प्रधान भएको बताएका हुन्। नेपाली आवश्यक्ता, नेपाली हित, नेपालको न्यायोचित पक्षमा हुनुपर्ने कुराहरूमा प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणमा धेरै कमजोरीहरुको देखाएको जिकिर उनले गरे।
इपीजी प्रतिवेदन र नेपालको भूमिबारे समेत प्रधानमन्त्री दाहालले भारतीय पक्षसँग कुनै कुरा गर्न नसकेको भन्दै उनले आक्रोश समेत व्यक्त गरे। सरकारले मनपरी र बेठीक ढंगले अघि बढाएको परराष्ट्र सम्बन्धमा आफ्नो पार्टीको साथ नरहने उनको भनाइ थियो ।
भारत र चीन दुई मित्र राष्ट्र भएकाले उनीहरूसँग खुलस्त कुरा राखेर मात्रै आपसी समस्यालाई समाधान गर्न सकिने भनाइ उनको थियो। आफ्ना जायज मागहरु पनि छिमेकीसँग राख्न नसक्ने हो भने त्यस्तो खालको सरकार र सत्ताको कुनै अर्थ नहुने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।