काठमाडौं- नेपाली कांग्रेसले भारतको उत्तराखण्डमा पर्ने रुद्रप्रयाग जिल्लामा गएको पहिरोमा बेपत्ता नेपालीको खोज तथा उद्धार गरी नेपाल ल्याउन भारतसँग पहल गर्न सरकारसँग माग गरेको छ।
भारतको उत्तराखण्ड राज्यमा केदारनाथ गौरीकुण्ड नजिकै बिहीबार रातिदेखि भएको वर्षासँगै खसेको पहिरोमा परेर १९ जना बेपत्ता भएका छन्। तीमध्ये १३ जना नेपाली रहेको खुलेको छ। उनीहरू सबै जुम्ला पातारासी गाउँपालिकाका हुन्।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै बेपत्ता नेपाली नागरिकको हरतरहले खोजी गर्न, उद्धार गरिएकाहरूको स्वास्थ्योपचारको व्यवस्था मिलाउन र तत्पश्चात स्वदेश फिर्ता ल्याउनका लागि भारत सरकारसँग अविलम्व पहल गर्न सरकारसँग माग गरेका छन्।
परराष्ट्रमन्त्री एनपी साउदले शनिबार उत्तराखण्डका मुख्यमन्त्री पुस्करसिंह धामीलाई टेलिफोन गरेर पहिरोमा बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि आग्रह गरेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।