वीरगन्ज– नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले अनुशासनको कमी नेपाली कांग्रेसको कमजोरी भएको बताएका छन्। कांग्रेस पार्टी भित्रकै नेताहरु एकअर्कालाई गाली गरिरहेका नेता महतले टिप्पणी गरे।
नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर १ (ख) प्रदेशसभा क्षेत्रीय कार्यसमितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै महतले भने, ‘कुनै कुराको चित्त नबुझ्न सक्छ, त्यो भन्न पाइन्छ। तर त्यो भन्ने ठाउँ, राख्ने ठाउँ र जाने ठाउँ हुन्छ। सामाजिक सञ्जालमा प्रचार गर्ने होइन।’
कांग्रेस पार्टी भित्रकै नेताहरु एकअर्कालाई गाली गरिरहेका छन्। निर्वाचनमा भोट दिइरहेका छैनन्। यस्तो अवस्थामा कांग्रेसमा लाग्नु र? भन्ने शंसय उत्पन्न हुने महतको भनाइ छ।
‘आन्तरिक रुपमा बहस हुनु ठीक छ। निष्कर्ष ननिस्केसम्म बहस हुनुपर्छ। तर निष्कर्ष निस्केपछि त्यो सबैले ग्रहण गर्नुपर्छ। त्यसपछि मात्र एकरुपता आउँछ, जनतामा एउटै सन्देश जान्छ। सामाजिक सञ्जाल उपयोग गरेर एकअर्कामा गालीगलौज गर्नु भनेको कांग्रेसमा सबै खराब रहेछन् भन्ने सन्देश जानु हो’, महतले भने, ‘खराब सन्देश प्रवाह भयो भने कांग्रेसको जनमत बढ्दैन।’
प्रवक्ता महतले नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रशारण गरेर भित्र एउटा कुरा गर्ने र बाहिर अर्कै रुपमा प्रस्तुत हुने सम्भावना टरेको बताए। महतले भने, ‘केन्द्रीय समितिको बैठकमा यथार्थ जे थियो, त्यो बाहिर आयो। यसले भ्रम समाप्त पारेको छ। तर कांग्रेस बैठक सधैं लाइभ हुँदैन।’
नीति, सिद्धान्त र इतिहास बोकेको पार्टी नेपाली कांग्रेस मात्र भएको दाबी गर्दै महतले काम गर्ने पार्टी भनेकै नेपाली कांग्रेस भएको जिकिर गरे। ‘तर हाम्रा नेता खराब भनेर हिँडिराख्ने हाम्रै साथीहरुलाई रोग लागेको छ। यसबाट हामी मुक्त हुनुपर्छ।’
अर्थमन्त्री समेत रहेका नेता महतले सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुले राम्रो काम गरिरहेको दाबी गरे।
‘माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुनुहुन्छ, संख्यामा हाम्रा मन्त्रीहरु धेरै हुनुहुन्छ। कांग्रेसका मन्त्रीहरुले धेरै राम्रो काम गरिराख्नु भएको छ,’ महतले भने, ‘मैले पनि राम्रै काम गरेको छु भन्ने लाग्छ। नेपाली कांग्रेस जिम्मेवार पार्टी हो। जे अप्ठ्यारा र समस्या मैले देखेँ, त्यसको सम्बोधन गर्ने प्रयास गरिरहेको छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।