कैलाली- कैलालीको घोडाघोडी नगरपालिका वडा नम्वर ६ बछुरियामा छिमेकी बाटै १४ वर्षीया बालिका बलात्कृत भएकी छिन्। घरमा कोही नभएको मौका छोपी भाद्र १३ गते राती करीव १० बजे घर जोडिएकै छिमेकी ३३ वर्षीय हर्क कुँवरले बालिकामाथि बलात्कार गरी फरार रहेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिएका छन्।
फरार अभियुक्तको खोजी भइरहेको उनले बताए। भाद्र १३ गते राती नै बलात्कारको घटना भएको भएपनि शुक्रबार मात्रै प्रहरीमा उजुरी आएकोे जोशीले बताए।
पीडित बालिकालाई उपचारको लागी टीकापुर अस्पताल लगिएको छ। बालिकाको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ।
कक्षा ७ मा अध्ययनरत बालिका घोडाघोडी नगरपालिका वडा नम्बर ६ बछुरियामा बाजेसँग बस्दै आएकी थिइन्। बाजे घरमा नभएको बेला उनको बलात्कार भएको हो। बालिकाका आमाबुवा अछाममा बस्ने गर्दछन्।
'मरी' भनेर छोडे बलात्कारीले
भाद्र १३ गते राती बालिकाका बाजे गोठमै सुते। घरमा बालिका एक्लै थिइन्। स्कुलमा सरले दिएको गृहकार्य गर्दागर्दै राती करीव १० बजे बालिका सुतिन्। ढोका बन्द गर्न बिर्सिइन् उनले। घर सँगैका छिमेकी, नाताले दाई पर्ने हर्क बहादुर कुँवर सोही समयमा बालिकाको घर भित्र पसेर बालिकामाथि बलात्कार गरे।
एक्लै सुतिरहेकी बालिकाको घरमा पसेका हर्क बहादुरले नाताले बहिनी पर्ने बालिका माथि बलात्कार गरे। मुख बन्द गरे बालिका कराउन खोजेपछी बालिकाकै सलले उनको हात र मुख बाँधेर घाँटी थिचे। जबरजस्ती बलात्कार गर्न थाले। बलात्कारकै क्रममा बालिका बेहोस भइन्। ‘मरी’ भनेर बलात्कारी हर्क बहादुर आफ्नो घर तिर लागे। त्यसपछि उनी फरार छन्।
करीव २ घन्टापछि पीडित बालिकालाई होस आयो। उनले रुँदै अछाममा रहेका आफ्ना आमाबुबालाई फोन गरेपछिमात्र गाउँका अन्य मानिसले घटनाको जानकारी पाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।