काठमाडौं- सशस्त्र प्रहरीले महोत्तरीमा भारतीय बजारबाट भन्सार छलेर नेपाल ल्याइएको सात करोड ५७ हजार रुपैयाँ बराबरको सामान भन्सार कार्यालयलाई बुझाइएको छ। गत आर्थिक वर्ष २०७९/८० मा जिल्लाका विभिन्न नाका हुँदै भन्सार छलेर ल्याइएका सामान बरामद गरी भन्सारलाई बुझाइएको हो।
भन्सार छलेर सामान ल्याउने व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय भिठ्ठामोरलाई बुझाइएको सशस्त्र प्रहरी बल ९ नं गण कार्यालयले जनाएको छ। सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक लेखनाथ खनालका अनुसार गत आव २०७९/८० मा भारतसँग सीमा जोडिएका जिल्लाको करिब ३९ किलोमिटर क्षेत्रमा विभिन्न नाकाबाट भन्सार छलेर ल्याउन लागिएको सामान नियन्त्रणमा लिई भन्सार कार्यालयलाई बुझाएको हो।
भन्सार छलीका सामानमा सबैभन्दा बढी सवारीसाधन रहेका छन्। बरामद गरी भन्सारलाई बुझाइएका दुई सय २० सवारीसाधन तीन करोड ४३ लाख रुपैयाँ मूल्य बराबरका रहेका छन्। यसैगरी २३ लाख ८२ हजार रुपैयाँको पशुचौपाया तथा तीन करोड २३ लाख मूल्य बराबरका अन्य सामान बरामद गरी भन्सार दाखिला गरिएको एसपी खनालले जानकारी दिए।
बरामद गरिएका अन्यमा एक करोड ९ लाख मूल्य बराबरका किराना र कस्मेटिक सामग्री, ९१ लाख ६० हजार रुपैयाँका कपडा, २८ लाख ३० हजार रुपैयाँका चौँरी गाईका पुच्छर, २५ लाख ६३ हजार रुपैयाँका इलेक्ट्रोनिक्स सामान लगायत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।