काठमाडौं- चितवनमा गत आर्थिक वर्ष २०७९/०८० मा ट्राफिक नियम उल्लङ्घन गर्ने ४० हजार ६ सय ६४ सवारी साधनका चालकलाई कारबाही गरिएको छ। चालकलाई कारबाही गर्ने क्रममा रु तीन करोड ४५ लाख ३८ हजार राजस्व सङ्कलन भएको छ।
मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, क्षमताभन्दा बढी यात्रु राखेर सञ्चालन गर्ने, निषेधित क्षेत्रमा सवारी पार्किङ गर्ने, तीव्र गतिमा सवारी चलाउने लगायत ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई कारबाही गरिएको हो।
कारबाहीमा पर्नेमा ट्रक तथा टिपरका चालक सात हजार ७५, बस तथा माइक्रोबसका चालक चार हजार एक सय ९४, जीप तथा कारका चालक सात हजार सात सय १२, ट्र्याक्टर चालक एक हजार ६ सय ९, मोटरसाइकल तथा स्कुटर चालक १३ हजार एक सय सात र टेम्पो तथा अटोरिक्सा लगायत सवारीसाधनका चालक ६ हजार ९ सय ६७ रहेका जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजकुमार तामाङले जानकारी दिए।
गत आवमा तीन सय तीन सवारी साधन दुर्घटनामा परेका थिए। सो क्रममा ७८ जनाको मृत्यु भएको थियो। ती दुर्घटनामा एक सय ७० जना गम्भीर र चार सय ११ जना सामान्य घाइते भएको उनले बताए। सबैभन्दा बढी जिल्लाका भित्री सडकमा एक सय ४१, पूर्व-पश्चिम राजमार्गमा ६४, नारायणगढ-मुग्लिन सडकखण्डमा ५७, पृथ्वी राजमार्गमा २३ र जिल्लाका सहरी सडकखण्डमा १८ सवारीसाधन दुर्घटनामा परेका ट्राफिक प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।