काठमाडौं– मंगलबार प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा संवैधानिक परिषदको बैठक बस्यो। संविधानको धारा २८४ अनुसार सर्वोच्च अदालतको रिक्त प्रधानन्यायाधीश सिफारिसका लागि परिषद्को बैठक बोलाइएको थियो।
केही साता विदेश बसेर फर्केपछि प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका थिए। यो बैठक करिब एक महिनाअघि बस्नुपर्ने थियो। संविधानको धारा २६८को ३ अनुसार सर्वोच्च अदालतको प्रधानन्यायाधीश खाली हुनुभन्दा एक महिनाअघि सिफारिस हुनुपर्ने उल्लेख छ।
यो व्यवस्था उल्लंघन भएको भन्दै आलोचना बढेको र सर्वोच्च साउन २० गते नेतृत्वविहीन हुने भएपछि प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठकका लागि पहल गरेका थिए। उक्त पहल अनुसार बैठक सुरु भएको थियो। बैठकमा एक मात्र अजेण्डा थियो सर्वोच्चको प्रधानन्यायाधीश सिफारिस।
त्यसका लागि न्याय परिषद्ले योग्यता पुगेका ११ न्यायाधीशको रोष्टर पठाएको थियो। परिषद्को बैठकमा अजेण्डा वितरण भयो र सहमति हुन सकेन। मंगलबार सहमित नभएपछि पुन: बिहीबार बैठक बस्नेगरी परिषद्का सदस्यहरु उठे।
परिषद्को बैठकले सहमति गर्न नसकेपछि उक्त दिनको बैठकको तस्बिरमाथि निकै चर्चा भयो। यसरी चर्चा हुनुको कारण थियो बसाई र मर्यादाक्रम। यो विवादका लागि सबैभन्दा पहिला संविधानको व्यवस्था हेर्नुपर्ने देखिन्छ।
संविधानको धारा २८४ मा ‘यस संविधान बमोजिम प्रधानन्यायाधीश र संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्न देहाय बमोजिमका अध्यक्ष र सदस्य रहेको एक संवैधानिक परिषद् रहनेछ’ भनिएको छ।
परिषद्मा प्रधानमन्त्री–अध्यक्ष, प्रधानमन्त्रीपछिको वरीयताक्रममा प्रधानन्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभाको विपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुख हुने उल्लेख छ।
तर, मंगलबारको बैठकमा प्रधानमन्त्री पहिलो लहरमा अनि सोझाको पहिलो स्थानमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसँगै राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना थिए। उनीहरु सामुन्ने प्रमुख प्रतिपक्ष दलका नेता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उप सभामुख इन्दिरा राना मगर थिए। तेस्रो सोझामा प्रधानन्यायाधीश हरिकृष्ण कार्की बसेका थिए। बैठकको तस्बिर सार्वजनिक भएलगत्तै मर्यादाक्रमको चर्चा र आलोचना सुरु भयो।
सामाजिक सञ्जालदेखि अन्य स्थानमा उक्त तस्बिरको चर्चा भयो। अनौपचारिक बैठकहरुमा जसरी बसेपछि यस्ता औपचारिक बैठकमा किन मर्यादाक्रम अनुसार सिटमा बसिएन वा बस्नका लागि कुनै अप्ठ्यारो परेको हो? भनी सामाजिक सञ्जालमा आलोचना र चर्चा भयो। यसरी चर्चा र आलोचना भएपछि बिहीबारको संवैधानिक परिषद्को बैठकको तस्बिर भने फरक देखियो।
बिहीबार पहिलो लहरमा प्रधानमन्त्री बसे। यस्तै सोफाको पहिलो लहरमा प्रधानन्यायाधीश कार्की बसे। उनीपछि प्रतिनिधि सभाका सभामुख घिमिरे र घिमिरेसँगै अर्को सोझामा प्रतिनिधि सभाकी उपसभामुख राना बसिन्। त्यस्तै सामुन्नेको सोझामा विपक्षी दलको नेता ओली बसेका छन् भने सँगै राष्ट्रिय सभा अध्यक्ष बसेका छन्।
परिषद्को निर्णय टिपोटका लागि मुख्यसचिव वैकुण्ठ अर्याल पनि बिहीबारको बैठकमा सहभागी भएका थिए। उक्त बैठकले सर्वोच्चको रिक्त प्रधानन्यायाधीशमा विश्वभरप्रसाद श्रेष्ठको सिफारिस गरेको छ। अब उनको नाम सुनुवाइका लागि संसदीय सुनुवाइ समितिमा जानेछ। समितिले सुनुवाइ गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई सर्वोच्चको प्रधानन्यायाधीशमा नियुक्त गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।