काठमाडौं– सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस भएको छ।
बिहीबार साँझ प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले उनको नाम सिफारिस गरेको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले बताए।
न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि श्रेष्ठसहित ११ जनाको रोष्टर पठाएको थियो। रोष्टरको पहिलो नम्बरमा रहेका श्रेष्ठको नाम सिफारिस गरेको हो। श्रेष्ठ २०८१ असोजसम्म प्रधानन्यायाधीश हुनेछन्।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले साउन २० गते अनिवार्य अवकाश पाउँदैछन्। उनीपछि श्रेष्ठले सर्वोच्चको नेतृत्व सम्हाल्ने छन्।
यसअघि मंगलबार यही विषयलाई टुंग्याउन संवैधानिक परिषद्को बैठक बसे पनि सहमति नजुट्दा सिफारिस हुन सकेको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।