काठमाडौं– पाँचौं धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता साउनको अन्तिम साता हुने भएको छ। नेपाल स्क्वास र्याकेट संघको आयोजनामा आगामी साउन २१ देखि २७ गतेसम्म उक्त प्रतियोगिता हुन लागेको हो।
उक्त प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित आयोजक नेपाल स्क्वास र्याकेट संघको भवनमा हुनेछ। बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त प्रतियोगिता इभेन्ट म्यानेजमेण्ट ललितपुर र प्याट्रियस इन्टरनेसनल प्रालिसँगको सहकार्यमा हुने आयोजकले जनाएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) बाट मान्यता प्राप्त यो प्रतियोगिताको मुख्य प्रायोजन धनलक्ष्मी फाउण्डेसनले गरेको छ। संघका निवर्तमान अध्यक्ष किशोर महर्जनकी स्वर्गीय आमा धनलक्ष्मीको सम्झनामा प्रतियोगिता हुन लागेको हो।
यस प्रतियोगिताको लागि प्रायोजकबाट दुई लाख रुपैयाँ नगद पुरस्कारको व्यवस्था हुने र यो रकम नेपाली स्क्वासको घरेलु प्रतियोगितामा अहिलेसम्मकै सर्वाधिक रहेको आयोजकको भनाइ छ। प्रतियोगितामा देशभरबाट एक सयभन्दा बढी खेलाडीले प्रतिष्पर्धा गर्नेछन्। १५ जना अफिसियल यस प्रतियोगितामा सहभागी हुने आयोजकको भनाइ छ।
प्रतियोगितामा खुला महिला/पुरुष, पुरुष यु–१९, मास्टर खुला (पुरुष ५० तथा सो वर्षभन्दा माथि) र सेट च्याम्पियनसिप गरी पाँच विधा समावेश गरिएको छ। खुला महिला/पुरुष दुवै तर्फका शीर्ष तीन स्थान प्राप्त गर्नेले क्रमशः २० हजार, १५ हजार र ५/५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यू–१९ मा शीर्ष तीन स्थान प्राप्त गर्नेले क्रमशः ११ हजार, ६ हजार र ३/३ हजार प्राप्त गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।