काठमाडौं– राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्र संघीय नियोग (युनिसेफ)की नेपाल प्रतिनिधि एलिस अकुंगाबीच शिष्टाचार भेटवार्ता भएको छ। युनिसेफको नेपाल प्रतिनिधिका रुपमा आएकी अकुंगाले बिहीबार सिंहदरबारस्थित आयोगको कार्यालयमा उपाध्यक्ष श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गरेकी हुन्।
उपाध्यक्ष श्रेष्ठले नेपाल प्रतिनिधि अंकुगालाई स्वागत गर्दै युनिसेफले नेपालमा गर्दै आएको सहयोगको प्रशंसा गरे। युनिसेफले नेपालमा स्वास्थ्य, पोषण, खानेपानी, तथा वातावरण, शिक्षा लगायतका काम गर्दै आएको भन्दै आगामी दिनमा पनि सहकार्य निरन्तर हुने उपाध्यक्ष श्रेष्ठले बताए।
सन् १९६४ देखि नेपालमा काम गर्न सुरु गरेको युनिसेफले सन् १९६८ मा काठमाडौंमा सम्पर्क कार्यालय र सन् १९७२ मा पूर्ण आकारको कार्यालय स्थापना गरेको थियो ।
केन्याकी नागरिक अकुंगा केन्या, मलावी, नाइजेरिया, इस्वाटिनी, माल्दिभ्स र अफगानिस्तान लगायतका देशमा बालबालिका क्षेत्रमा दुई दशकभन्दा बढी काम गरेको अनुभव छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।