काठमाडौं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी काण्ड, ललिता निवास जग्गा काण्ड तथा सय किलो सुनकाण्ड जस्ता ठूला काण्ड त्यसै सामसुम हुने हो कि भन्ने आशंका पैदा भएको बताएका छन्। माथिल्लो निकायका मान्छेको संलग्नताका कारण यी काण्ड त्यसै सेलाएर जाने आशंका गरे।
नेपाल प्रेस युनियन काठमाडौं शाखाले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै डा कोइरालाले कुनै ठूला घटना बाहिर आउने वित्तिकै ठूला तीन दलका शीर्ष नेताहरु एकै ठाउँमा बसिहाल्ने गरेकोले पनि समस्या भएको बताए।
उनले भने, ‘कुनै इस्यु आउँछ। अनि शीर्ष दलका नेताहरु एक ठाउँमा बसिहाल्छन्। बसेर छलफल गर्छन् कि के गर्छन् थाहा छैन। हिजो-अस्ति पनि छलफल भएको छ।’ उनले यस विषयमा गम्भीर भएर छलफल चलाउन पत्रकारहरुलाई आग्रह गरे। उनले यस कुरालाई उजागर गर्न सकेको अवस्थामा मुलुकलाई सही दिशामा मार्ग निर्देशन गर्न सकिने बताए।
एउटा काण्ड सेलाउन नपाउँदै अर्को काण्ड आउनाले त्यसको गहिराइमा पुग्न नसकेको उल्लेख गर्दै उनले मुलुक भ्रष्टाचार, दण्डहीनताका कारण अराजकतातर्फ जाँदै गरेकोप्रति चिन्ता व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।