काठमाडौं– सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको चौथो पूर्ण बैठक आज (बिहीबार) पनि बस्दैछ। बुधबारदेखि सुरु भएको बैठक बिहीबार बिहान ११ बजे बस्ने नेताहरुले जानकारी दिएका छन्।
बुधबारको बैठकमा केन्द्रीय समितिका ३८५ जना सदस्य, वैकल्पिक केन्द्रीय सदस्य १९६ जना, पार्टीले गरेको १० प्रदेशका पदाधिकारी ९० जना, ३ वटा आयोग (अनुशासन, लेखा र निर्वाचन) का ४१ जना सदस्यहरु सहभागी भएका थिए।
बुधबारको बैठकमा केन्द्रीय समितिको आकार ३८५ बाट बढाएर ४०९ जना बनाउने प्रस्ताव गरिएको छ। समावेशिताका अनुसार २४ जना महिला सदस्य थपेर ४०९ पुर्याउने प्रस्ताव गरिएको हो।
बुधबार १ बजेदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘जनतासँग पार्टी’ अभियान पनि प्रस्तुत गरेका छन्। पार्टी सुदृढीकरण अभियान भनिएको यस अभियान हरेक वडासम्म पुग्नेछ। भदौ, असोज र कात्तिक महिनाभर अभियान चल्नेछ।
प्रचण्डले पार्टी वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरुलाई ३२ विभागको जिम्मेवारी, महासचिव र उपमहासचिवलाई जनवर्गीय संगठनको जिम्मेवारी र सचिवहरुलाई प्रदेशको समन्वयको जिम्मेवारी दिने प्रस्ताव पनि प्रस्तुत गरेका छन्।
बुधबार अध्यक्ष प्रचण्डले प्रतिवेदन पेस गरे पनि लिखित रुपमा भने वितरण गरिएको थिएन। बिहीबार उक्त प्रतिवेदन लिखित रुपमा वितरण गरिने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ। बुधबार मौखिक रुपमा सुनेको भरमा प्रचण्डको प्रतिवेदनमाथि १८ जना सदस्यले आफ्नो धारणा राखेका थिए। बिहीबार पनि केन्द्रीय सदस्यहरुले अध्यक्ष प्रचण्डको प्रतिवेदनका साथै अन्य विषयमा पनि आ–आफ्नो धारणा राखेका थिए।
प्रत्येक सदस्यलाई बोल्नका लागि ५ मिनेट समय उपलब्ध गराइएको छ। निर्धारित समयपछि माइक अफ हुनेछ।
बैठकलाई लाइभ गर्ने भनेर केही दिनअघिको पदाधिकारी बैठकले निर्णय गरेता पनि अन्तिम समयमा सो निर्णयबाट पार्टी पछि हटेको थियो। केन्द्रीय समिति सुरु हुनुअघि बुधबार बिहान बसेको स्थायी समिति बैठकले लाइभ नगर्ने निर्णय लिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।