काठमाडौं- नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले सुन तस्करी र कारोबारीको शंकाको सुई सत्तासिन केन्द्रतर्फ सोझिएको बताएका छन्। बुधबार ट्विट गर्दै उनले शंकाको सुई सत्तासिन केन्द्रतिर सोझिने तथ्यहरु आउने सम्भावना निकै बढेर गएकाले सुन तस्करी र कारोबारीका समाचार सेलाउँदै जाने बताएका छन्।
उनले नेकपा माओवादी केन्द्रलाई लक्षित गर्दै रेस्टुरा बिक्री, घरजग्गा कारोबार, विदेशमा रकम निकासालगायतमा सेटिङ रहेको आरोप लगाएका छन्।
'अब सुन तस्करी र कारोबारीका समाचार सेलाउॅंदै जालान्, किनकी शंकाको सुई सत्तासिनकै केन्द्रतिर सोझिने तथ्यहरु आउने सम्भावना निक्कै बढेर जाने देखिन थालेको छ,' उनले भनेका छन्, ‘बेल्जियमको रेस्टुरा बिक्री, झम्सिखेल घरजग्गा करोबार, सिंगापुरतिर रकम निकासी, श्रमिकको प्रवासै डलर खरिद र हुन्डी, राजस्व नाका सेटिङ।’
राजस्व अनुसन्धान विभागको टोलीले साउन २ गते हङकङबाट आएको करिब १ क्विन्टल सुन भन्सार पास भइसकेको अवस्थामा सिनामंगलबाट बरामद गरेको थियो।
राजस्व अनुसन्धान विभागले उक्त प्रकरणमा हालसम्म १७ जनालाई पक्राउ गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।