काठमाडौं- माओवादी केन्द्रको बुधबार सुरु भएको केन्द्रीय समिति बैठकमा १८ जना सदस्यले धारणा राखेका छन्। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदन र ब्रिफिङमाथि १८ जनाले धारणा राखेको माधव सापकोटाले जानकारी दिए।
उनका अनुसार अध्यक्ष प्रचण्डले बैठकमा छलफल गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए। माओवादी केन्द्रको सांगठनिक संरचना भद्दा भएको र जीवन्त नभएको कुरा पार्टीमा पहिलेदेखि नै छलफल भइरहेकाले प्रचण्डले त्यसलाई चुस्त दुरुस्त बनाउने र एकपटक पार्टी पंक्तिलाई वडा स्तररमा फर्काउने प्रस्ताव गरेका थिए।
सापकोटाका अनुसार, तीन महिनाको अभियान सञ्चालन गरेर विधान सम्मेलन गर्ने र विधान सम्मेलनबाट पार्टीलाई चुस्त दुरुस्त व्यवस्थित तुल्याउने भन्ने प्रस्ताव प्रचण्डले राखेका छन्।
उनले बैठकलाई लाइभ गर्दा बैठककै मूल आत्मा मारिने भएकाले लाइभ नगर्ने निर्णय गरेर ठीक गरिएको बताए। उनले पार्टीको बैठक भनेको नितान्त आन्तरिक र घरायसी छलफल भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।