काठमाडौं– राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयक बनाउँदा दूरगामी प्रभाव हेरेर बनाउनुपर्ने बताएका छन्। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले विषयको दूरगामी प्रभाव हेरेर मात्रै विधेयक बनाउनुपर्ने बताएका हुन्।
उनले एक/दुई वर्षमै परिवर्तन हुनेगरी विधेयक बनाउनु नहुनेमा जोड दिए। सांसदहरुले आफ्नो अध्ययनको सीमा बढाउँदै र विषयवस्तुको गहिराइमा पुगेर मात्रै विधेयक बनाउनुपर्ने उनको भनाइ थियो।
नीति, निर्माण गर्न आएका सांसदहरु त्यता केन्द्रित हुन नसकेका भन्दै उहाँले जनतालाई पनि आफ्नो भुमिकाप्रति जागृत गराउनुपर्ने बताए। उनले संघीयतालाई कार्यान्वयन गर्नका लागि प्रदेश र स्थानीय तहलाई बलियो बनाउनुपर्ने बताए।
संघले अधिकारहरु आफूलाई मात्र राख्नु नहुने उहाँको भनाई छ । यसतर्फ सबैको खबरदारी आवश्यक रहेको उनको भनाइ थियो। अध्यक्ष तिमिल्सिनाले जिल्ला समन्वय समितिलाई कामकाजी बनाउन नसक्ने हो भने हटाउनुपर्ने धारणा राखे। उनले जिल्ला समन्वय समितिको औचित्यमाथि बहस गर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।