काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभक्त र परिवर्तनकारी वामपन्थी दलविरुद्ध लाग्न राजासँग मेलमिलाप गरेको आरोप लगाएका छन्। बुधबार काठमाडौंमा तुलसीलाल स्मृति दिवसका अवसरमा बोल्दै उनले बीपी र राजाबीचको मेलमिलाप राष्ट्रिय नभई व्यक्तिगत मात्रै भएको बताएका हुन्।
कतै पनि टिक्न नसकेपछि, भारतमा अडिन पनि गाह्रो भएपछि बीपीले व्यक्तिगत लाभका लागि राजासँग मेलमिलाप गरेको आरोप उनले लगाए। उनले भने, 'बीपी कोइरालाले राष्ट्रिय मेलमिलाप भनेर आफ्नो र राजाको मेलमिलापलाई राष्ट्रिय मेलमिलाप भन्नुभयो, कसका विरुद्ध भन्दा वामपन्थी, परिवर्तनकारी, देशभक्त शक्तिहरूका विरुद्ध।'
उनले भने-
कांग्रेसका नेता असाध्ये चतुर हन्छन्। संघर्ष गर्न नसकिने भयो, टिक्न नसकिने भयो, भारतमा पनि अडिन गाह्रो भयो। सबैतिर अप्ठ्यारो भएपछि अब आत्मसमर्पण गरेर भए पनि नेपाल जानुपर्यो। तर त्यसलाई के भन्नुभयो भने एकदिन बिहान उठ्दा नेपालमा सबै राता झण्डा गाडिएको देखिनेछ। त्यसकारण अब म जनताको जनशक्ति र राजा राज्यशक्ति दुईटा मिलेर जानुपर्छ। त्यसकारण राजा र मेरो अब गर्धन जोडिएको छ भन्ने व्याख्या गरेर बीपी कोइरालाले राष्ट्रिय मेलमिलाप भनेर आफ्नो र राजाको मेलमिलापलाई राष्ट्रिय मेलमिलाप भन्नुभयो. कसका विरुद्ध भन्दा वामपन्थी, परिवर्तनकारी, देशभक्त शक्तिहरूका विरुद्ध। त्यसका लागि वक्तव्य हेरे हुन्छ। बोल्न नसक्नु बेग्लै कुरा हो। कसैले बोल्न सक्दैन, आँट गर्न सक्दैन भने त्यो बेग्लै कुरा। तर नीति त्यही हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।