‘तपाईंलाई टाइम ट्राभल’मा स्वागत छ,’ ‘एयरहोस्टेज’को मधुरवाणी सुनिन्छ। उडानको बेला यात्रुहरूले पालना गर्नुपर्ने नियम बताउँछिन् उनी।
मनले सोच्छ, ‘पालना नगरिदिँदा के हुन्छ?’
जवाफ – अवरुद्ध हुनसक्छ कि!
उसो त म बारुदमाथिबाट उड्ने विमानको यात्रासँग त्रसित छु। हुँदै नहुने दुर्घटनालाई सम्भावित सम्झेर अतालिन्छु। यो त झन् रहस्यमयी उडान छ।
न(अ)गरकोटी’को श्वैरकल्पनाभित्र विमानले उडान भर्दैछ। लाग्दै थियो, ‘कतै ‘अगरकोटी’कै मस्तिष्कभित्र दुर्घटित त हुने हैन।’
शिल्पी थिएटरको अँधेरो हलबाट यात्रा सुरु हुन्छ। के ‘सेफ ल्याण्डिङ’ हुन्छ?
०००
नेपाली साहित्यमा परम्परागत शैलीलाई भत्काउने कुमार नगरकोटी यस्ता ‘पाइलट’ हुन्, जो बनिबनाउ मान्यतामा ‘हु केयर्स’ गर्छन्। उनी आख्यान लेख्दैनन् मात्र, ‘डिजाइन’ पनि गर्छन्। त्यसैले उनलाई प्रेम गर्नेहरू सम्मानसाथ भनिदिन्छन्, 'फिक्सन डिजाइनर।'
‘फिक्सन डिजाइनर’ र रंग निर्देशक घिमिरे युवराजको संयुक्त डिजाइनले खडा गरेको संसार कस्तो होला?
सेटको अँधेरो कोठामा ‘मानवशास्त्री’ रुमलिरहेका छन्। ओहो! मानवशास्त्री हैन, मानव शास्त्री पो त! उनी ‘एन्थ्रोपोलोजिस्ट’ हैनन्, नाटककार हुन्।
मानव मायावीको जालमा छन्। तपाईंले सेटको माथि नियालेर हेर्नुभयो भने जाल ओछ्याइएको छ। यसर्थ मानव मात्र हैन, मायावी पनि जालमा छिन्। वास्तवमा मायावीहरू मानवहरूको जालमा बढी प्रताडित छन्।
मानवले मायावीलाई विभिन्न अवतारमा देखिरहेको छ। मायावीको तीन अवतार नाटकको सुन्दर ‘कन्फ्युजन’ हो। विसं २१७५ बाट मायावी समय यात्राको विमान चढेकी छ। ०७ सालको क्रान्ति नियालेकी छ। बालकृष्ण समको व्यक्तित्व र स्वभावसँग संवाद गरेकी छ।
यतिबेला यात्राको सुई ०७५ को घडीमा गएर अडिन्छ। अडिई राख्छ।
फेन्टासी कति शक्तिशाली हुन्छ? त्यसको फैलावटले देखिने दृश्य र गहिराइले भेटाउने जरा कति महत्वपूर्ण हुन्छ? डेढ घण्टाको नाटकमा मैले अनुभूत गरेँ।
मानव शास्त्रीको कोठामा वा गोदाममा मरेको लासबारे मायावीहरूले पटक-पटक बताइरहन्छन्। यो नेदिखएको लासले आदर्श वा अस्तित्वको मृत्युलाई इंगित गर्छ। प्राइभेट जेल र जेलरको प्रसंग। मानिसहरू आ–आफ्नो सोचाइको बन्दी छन्। आफैंले आफूलाई बन्दी बनाएर पर्खाल लगाइरहेका छन्।
कथाका पात्रहरू सशक्त ‘मेटाफर’ लाग्छन्। सेटको प्रयोग नौलो छ। सुरुवाती दृश्यमा मान्छेहरूको छाया देखापर्छ, त्यसपछि मानव। अनि मायावी। र मायावीहरू। सेटले समयको कथा, पात्रको मनस्थितिको कथा र मनभित्र उब्जिएका द्वन्द्वको कथा भन्छ।
कफी घाटले नाटकमा नगरकोटी फ्लेभरलाई झन् स्वादिलो बनाउँछ। कफी घाटमा भेटिने घिमिरे युवराज ‘विमोक्ष’का लागि ‘हिउँको पृथ्वी यात्रा’ गरिरहेछन्।
यतिबेला उनी ‘ट्रान्जिट’मा रोकिएका छन्। अनि न(अ)गरकोटीको कफीघाटमा निदाइरहेका छन्। यहाँ मानव शास्त्री मायावीसँग आइपुगेका छन्। यहाँ अनुपस्थित तीन छन्, सायद ती मानवका नाटकका तीन अभिनेत्री हुन् कि! उनीहरूको अनुपस्थितिमा मानवको अनौठो यात्रा सुरु भएको थियो।
कफीघाटबाट घिमिरे युवराज नाटकको रथ गुडाउँदै ओझेल हुन्छन्। म कफी घाटका यी पात्रहरूलाई अनौठा बिम्बझैं नियालिरहेछु।
अब जाऊँ ‘ट्रान्जिट’का यात्रीहरूतर्फ। मानवशास्त्रीको अवतारमा दिव्य देवले दस्तखत नै गरे। नगरकोटीको मस्तिष्कमा हुर्किएको ‘पर्फेक्ट’ पात्र हुन् झैं लागे। उनलाई देख्नासाथ ‘चिसो एस्ट्रे’मा भूपी गल्लीहरूमा रुमल्लिरहेका मदन सम्झिन्थेँ। अब मानव शास्त्रीको सम्झना दिव्य देवले गराइरहनेछन्।
मायावी – आकांक्षा कार्की
मायावी– शिल्पा मास्के
मायावी– बासना तिमल्सिना
यी पात्रहरूले जन्माउने थ्रील, उत्सुकता र रोमाञ्चकता रोचक छ। कहिले उनीहरू ‘ट्रान्जिट’मा भेटिएका समय यात्राका यात्रीजस्ता लाग्छन्, कहिले मानव शास्त्रीले नाटकमा अभिनय गराएका अभिनेत्री जस्ता लाग्छन् त कहिले प्राणबाट छुटेर भ्रमणका निस्किएका आत्माजस्ता।
मायावीको तीन अवतारले छुट्टै प्रभाव छाडेका छन्।
प्राइभेट जेलका जेलरका अवतारमा सुहाउँदिलो देखिन्छन्, मिल्सन राई।
‘ट्रान्जिट’मा भेटिएका पात्रहरूले छुट्दा पनि निकै दिनसम्म पछ्याइरहे। यो समयको अनुहारलाई नगरकोटीले अमूर्त शैलीमा पोट्रेट गरेका छन्। नगरकोटीको श्वैरकल्पनाको उडानलाई घिमिरे युवराजले वास्तविकताको धरातलमा सुरक्षित अवतरण गरेका छन्।
यदि तपाईंलाई यो उडानको महसुस गर्न मन छ भने ‘ट्रान्जिट’ शिल्पीमा छ। हिजोआज साँझ साढे पाँच बजे गोठाले नाटकघर तपाईंको प्रतीक्षा गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।