काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक नभएको बताएका छन्।
बुधबारदेखि सुरु हुन लागेको केन्द्रीय कमिटी बैठकअघि बोल्दै नेता शर्माले राजश्व अनुसन्धान विभाग सरकारकै निकाय भएकाले त्यसले अनुसन्धान गरिरहेका कारण उच्चस्तरीय छानबिन समिति आवश्यक नभएको बताए।
उनले भने, ‘सुन प्रकरणमा राजस्व अनुसन्धान विभागले आफ्नो अनुसन्धान जारी गरेको छ। राजस्व अनुसन्धान सरकारकै निकाय हो। सरकारले पक्रेको छ। सरकारले नै पक्रेको कुरामा सरकारले अनुसन्धान गर्न नसक्दा, अनुसन्धान नहुँदा सत्यतथ्य पत्ता नलाग्दा उच्च स्तरीय पनि आवश्यकता पर्दा बनाउनुपर्ला। तर अहिले प्रारम्भमा सरकारले पक्रेर नै त थाहा भएको हो।’
उनले उच्चस्तरिय छानविन समितिको आवश्यकताभन्दा पनि अनुसन्धान अघि बढाएर आएको तथ्य हो वा होइन भन्ने कुराको टिकाटिप्पणी गर्न सकिने बताए।
शर्माले भने, ‘विपक्षीलाई मेरो आग्रह छ। छानबिन भइरहेको छ। छानबिन हुन दिनुपर्छ। चित्त नबुझ्दा तपाईंहरुले भनेको कुरा पनि उठ्ला ।’
यस्तै उनले तत्काल पार्टी नेतृत्वको विकल्प नखोज्ने बताएका छन्। उनले भने, ‘यो महाधिवेशन होइन। केन्द्रीय कमिटीको बैठक हो। यो बैठकमा त्यो हुँदैन। हामीले महाधिवेशन गरिसकेका छौं। अहिले कुनै केही विकल्प खोजिँदैन।’
उनले केन्द्रीय कमिटी बैठकको मुलभूत अजेण्डा भनेको पार्टीलाई व्यवस्थित गर्ने, सुदृढ गर्ने, जनसंगठनहरु विस्तार गर्ने, पार्टीलाई आफ्नै खुट्टामा उभिएर प्रतिस्पर्धा हासिल गर्नका लागि योग्य बनाउने, समाजवाद स्थापनाका लागि पार्टीको वैचारिक बाटो स्पष्ट गर्ने, विधि पद्धतिलाई पालना गरेर पार्टी सञ्चालन गर्ने र आम जनताका मुद्दाहरु आवश्यकता पर्दा संघर्षको नेतृत्व गर्ने तथा सरकारले गरेका राम्रा कामको जनतासम्म पुर्याउनु रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।