बुधबार बिहान बसेको माओवादी स्थायी समितिको बैठक काठमाडौं– सत्तारुढ दल नेकपा माओवादी केन्द्र केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण (लाइभ) गर्ने निर्णयबाट पछि हटेको छ।
बुधबार केन्द्रीय समितिको बैठक अगाडि बसेको स्थायी समितिको बैठकले बैठक लाइभ नगर्ने निर्णय गरेको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए।
यसअघि पार्टी पदाधिकारीहरुको बैठकले बैठक प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेको थियो। तर उक्त निर्णयको पार्टीका धेरैजसो केन्द्रीय सदस्यहरुले विरोध गरेका थिए।
आन्तरिक रणनीति, संगठनात्मक संरचना र राजनीतिक समीक्षासँग सम्बन्धित केही विषय गोप्य राख्नुपर्ने अवस्थामा बैठक लाइभ गरिनु उचित नहुने भनाइ केही नेताहरुको थियो।
नेताहरुको विरोधपछि स्थायी समिति बैठकले लाइभ नगर्ने निर्णय गरेको हो। स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँग बोल्दै महराले भने, ‘,‘पदाधिकारीको बैठकमा लाइभ गर्ने भन्ने थियो। स्थायी समिति बैठकबाट लाइभ नगर्ने निर्णय भएको छ। यो तपाईंहरुले बुझ्नु पर्दछ। लाइभ हुँदैन।’
यसअघि सत्तारुढ गठबन्धनको दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक लाइभ भएको थियो। पार्टीका गतिविधि पारदर्शी हुनुपर्ने भन्दै कांग्रेसले केन्द्रीय समितिको बैठक लाइभ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।