काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पहुँच र शक्तिको आडमा सिंहदरबार वरीपरीका कार्यालयमा मात्रै कार्यरत कर्मचारीलाई दुर्गमका स्थानीय तहमा खटाउन थालेका छन्।
विद्यमान सरुवा प्रणालीको विकृति हटाउन लागिरहेका मन्त्री मोदीले सिंहदरबार वरीपरीका कार्यालयमा ३ वर्ष बढी समय बसेका कर्मचारीको सरुवा गर्दै दुर्गम क्षेत्रमा खटाउन थालेका हुन्। मन्त्री मोदी पदभार सम्हालेदेखि नै प्रशासनिक र व्यवस्थापकीय सुधारमार्फत् सुशासन कायम गर्ने दिशामा अग्रसर छन्।
प्रशासनिक सुधारका क्षेत्रमा दर्जनौं दूरगामी निर्णय गर्दै आएका मन्त्री मोदीले सरुवाको विद्यमान विकृति हटाउनका लागि आवश्यक सुझाव दिन भन्दै २०८० जेठ २९ गते सरुवा व्यवस्थापन कार्यदल गठन गरेका थिए। मन्त्री मोदीले सो कार्यदलले बुझाएको प्रतिवेदनमा समाविष्ट सुझाव कार्यान्वयन गर्न थालेका छन्।
कार्यदलको सुझावअनुसार नै मन्त्री मोदीको निर्देशनमा मन्त्रालयले हालै मात्र दुर्गम क्षेत्रमा कार्यअवधि पूरा गरेकालाई सुगमको कार्यालय रोजेर र सुगम क्षेत्रमा कार्य अवधि पूरा गरेकालाई दुर्गम क्षेत्रको कार्यालय रोजेर निवेदन दिन आह्वान गरेको थियो।
यससँगै मन्त्रालयले सुगम क्षेत्रमा कार्य अवधि पूरा गरेकाहरुलाई दुर्गम क्षेत्रमा खटाउन थालेको छ। जसअनुसार मन्त्रालयले बुधबार १४ जना उपसचिव र ८ जना शाखा अधिकृतको सरुवा गरेको छ।
मन्त्रालयले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वा अन्तर्गत्का कार्यलयमा कार्यरत उपसचिव खगेन्द्र सुवेदीको पाख्रिबास नगरपालिका धनकुटासहित अन्य जना उपसचिवको रौटहटका स्थानीय तहमा सरुवा भएको छ।
त्यस्तै गृह मन्त्रालय वा अन्तर्गत्का कार्यालयमा कार्यरत उपसचिव चोमेन्द्र न्यौपानेको मैलौली नगरपालिका बैतडीमा सरुवा भएको छ। यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वा अन्तर्गतका कार्यालयमा कार्यरत उपसचिव श्रीधर गौतमको शिखर नगरपालिका डोटीमा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव सोमराज बरालको गोडैता नगरपालिका सर्लाहीमा सरुवा भएको छ।
यस्तै सिंहदरबार वरीपरीका ८ जना शाखा अधिकृतको पनि दुर्गमका स्थानीय तहमा सरुवा भएको छ। गृह मन्त्रालय वा अन्तर्गतका कार्यालयमा कार्यरत शाखा अधिकृत सुशील कुमार भण्डारीको सिदिङ्वा गाउँपालिका, ताप्लेजुङसहित गृहकै अन्य ३ जना शाखा अधिकृतको विभिन्न स्थानीय तहमा सरुवा भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वा अन्तर्गतका कार्यालयमा कार्यरत शाखा अधिकृत हरिजंग चन्दको जुनीचाँदे गाउँपालिका जाजरकोटसहित उद्योग मन्त्रालयका अन्य २ जना शाखा अधिकृतको विभिन्न स्थानीय तहमा सरुवा भएको छ।
यसअघिदेखि नै मन्त्री मोदीले पहुँच नभएकै कारणले विकटको विकट क्षेत्रमा रहिरहनुपर्ने कर्मचारीको बाध्यता अन्त्य गर्ने बताउँदै आएका छन्। मन्त्री मोदीले निमित्त प्रमुख प्रशासकीय अधिकृत हटाउनेदेखि मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराउने स्थानीय तहको खाता रोक्कासमेत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।