काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पास गर्ने विषयमा शीर्ष नेताहरूसँग छलफल गरेका छन्।
मंगलबार कांग्रेस संसदीय कार्यालय सिंहदबारमा देउवासहित शीर्ष नेतृत्वको बैठक बसेको हो। बैठकले शान्ति सम्झौताले टुंगाउन बाँकी काम छिटो सक्न सरकारको ध्यानाकर्षण गर्ने निष्कर्ष निकालेको छ।
कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बैठकमा विधेयक जतिसक्दो चाँडो संसद्बाट पारित गर्नुपर्ने विषयमा छलफल भएको जानकारी दिए।
‘सत्य मेलमिलाप तथा वेपत्ता छानबिन आयोगको ऐन अहिले संशोधनको अवस्थामा छ। त्यसैले शान्ति प्रक्रियाका बाँकी काम टुंगाउनका लागि विधेयक यथाशीघ्र संसद्बाट पारित गर्न जरुरी छ,' उनले भने, ‘विवादीत विषयमा द्वन्द्वरत पक्ष र प्रभावित, पीडित तथा पीडक लगायतका विविध पक्षहरूसँगको सहमतिमा विधेयक ल्याउनपर्छ भनेर विगत लामो समयदेखि चलिराखेको हो। अहिले त्यही प्रयत्न भइरहँदा कांग्रेसभित्र आन्तरिक छलफल भएको हो।'
नेता विश्वकर्माले विधेयकमा रहेका कमजोरीका पक्षमा सम्बन्धित निकायसँग सहमति गर्ने विषयमा छलफल भएको जानकारी दिए।
संसद्को गतिरोध अन्त्यका विषयमा पनि शीर्ष तहमा छलफल भइरहेको जानकारी उनले दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।