फाइल तस्वीर प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पीडित र पीडितका साक्षीको संरक्षण गर्न नसक्दा फौजदारी मुद्दाका न्याय दिन नसकिएको बताएका छन्।
मंगलबार इन्सेकले ३१ औँ प्रकाश स्मृति दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानन्यायाधीश कार्कीले पीडित र साक्षीहरूको संरक्षण गर्न नसक्दा उनीहरूलाई फौजदारी मुद्दामा न्याय दिन नसकिएको बताए। पीडित र पीडितका साक्षीको संरक्षणको विषय संविधानमा नै उल्लेख भएको भए पनि उनीहरूको संरक्षण सार्थक रुपमा हुन नसकेको उनको भनाइ थियो।
पीडितको संरक्षण गर्न नसक्दा प्रतिकूल वकपत्र आउने गरेकाले न्याय दिन कठिनाइ भएको उनले बताए। आर्थिक, सामाजिक र शैक्षिक रुपमा पिछडिएको कारणले पनि प्रतिकुल वकपत्र दिनुपर्ने अवस्थामा पीडितहरू पुगेका उनको भनाइ थियो।
सरोकारका विषयहरू अदालतमा लैजाने संविधानको व्यवस्था अनुरुप ती विषयहरू अदालतमा पुगे पनि त्यसको दुरुपयोग हुन थालेको भनाइ उनको थियो। उनले व्यक्तिगत तथा राजनीतिक स्वार्थ र सस्तो लोकप्रियताका लागि यस प्रकारका विवादहरू अदालतसम्म पुर्याउने गरिएको बताए।
प्रधानन्यायाधीश कार्कीले न्यायालय स्वतन्त्र, सक्षम, निष्पक्ष र उत्तरदायी नभए मानव अधिकारको संरक्षण हुन नसक्ने बताउँदै उनले न्यायालय राजनीतिक हस्तक्षेप र आर्थिक प्रलोभनबाट मुक्त हुनुपर्ने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।