काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशको प्रमुख समस्या नेताहरू इमान्दार नभएको बताएका छन्। मंगलबार पार्टीनिकट आखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले काठमाडौंमा आयोजना गरेको विद्यार्थी सम्मान कार्यक्रममा उनले देशमा धेरै समस्या भएको तर तीमध्ये पहिलो इमान्दार बन्न नसक्नु भएको बताए।
'जसरी कुनै रोगको उपचार गर्न समस्याको मूल कारण पत्ता नलगाए बिरामीको ज्यानै जान सक्छ त्यसैगरी देशको अवस्था पनि अहिले बिरामीको जस्तै छ,' उनले भने, 'देशमा धेरै समस्या छन्, पहिलो समस्या हामी बन्नुपर्ने जिति इमान्दार बनेका छैनौँ। देश बनाउने भावनाले ओतप्रेत बनेका छैनौँ। हामी आफूलाई केन्द्रविन्दुमा राखेर काम गरिरहेका छौँ, देश र जनतालाई छैनौँ।'
उनले जनतामा भेदभाव, अन्याय, थिचोमिचो र विभेद भए त्यो देशले प्रगति गर्न नसक्ने बताए।
संविधानले धेरै अधिकार दिए पनि त्यो लागू हुन नसकेको बताउँदै उनले संविधानको कार्यान्वयनमा सबै लाग्नुपर्ने भनाइ राखे।
अहिले देशमा शिक्षा र स्वास्थ्य क्षेत्र मुनाफा कमाउने माध्यम भएको पनि उनको भनाइ थियो। उनले मुनाफा कमाउनका लागि अन्य उद्योग हुने बताउँदै शिक्षा र स्वास्थ्यलाई मुनाफा कमाउने माध्यम बनाउन नहुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।