काठमाडौं– प्रतिनिधि सभा बैठक सञ्चालका सन्दर्भमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच भएको ‘सहमतिको प्रयास’ असफल भएको छ।
१ क्विन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने एमालेको अडानमा सरकार पक्ष सहमत भएन। एमालेले आफ्नो अडान कायम राख्यो भने सत्ता पक्षले राज्यका स्थापित निकायबाटै अनुसन्धान हुने अडान दोहोर्यायो।
मंगलबार १ बजे बस्ने भनिएको प्रतिनिधि सभाको निर्धारित समयभन्दा १ घण्टाभन्दा ढिलोसम्म पनि सुरु हुन सकेको छैन।
एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले सदन सञ्चालन गर्ने सम्बन्धमा सरकार पक्ष नै सकारात्मक नदेखिएको बताए। ‘उच्चस्तरी छानबिन बनाउनु पर्छ भन्ने अडान कायम छ। हामी त्यसबाट ब्याक हुँदैनौं। सरकारले समिति गठन गर्ने हो। त्यसबारे सरकार पक्षले सकारात्मक कुरा गरेन,’ बर्तौलाले भने।
मंगलबार दिउँसो बसेको बसेको कार्यव्यवस्था समितिको बैठकमा बैठक सञ्चाल गर्ने विषयमा छलफल भएको थियो। सत्तारुढ दलका सचेतकले सुन तस्करी प्रकरणबारे उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिने जानकारी गराएका थिए। एमालेका सांसद्हरुले भने गृहमन्त्रीले जवाफ दिने नभइ उच्चस्तरीय समिति गठनको प्रतिबद्धता सरकारका तर्फबाट आउनुपर्ने अडान राखे।
सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने एमालेको अडानका कारण प्रतिनिधि सभाको साउन १० गतेको बैठक स्थगित भएको थियो। समिति गठनको माग गर्दै एमालेले साउन १० गतेको प्रतिनिधि सभा बैठकमा वेल घेराउ गरेको थियो।
एमालेकै अडानका कारण सोमबार बस्ने भनिएको बैठक बस्दै नबसी स्थगित भएको थियो। मंगलबार पनि बैठक बस्ने, नबस्ने टुंगो छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।