एमाले कोशी संसदीय दलका सचेतक रेवतीरवण भण्डारी (फाइल तस्बिर) काठमाडौं– नेकपा एमालेले कोशी प्रदेशको सरकारको दाबीका लागि सभामुखलाई राजीनामा गराएर बहुमत पुर्याउन आपत्तिजनक कुरा रहेको जनाएको छ। सो प्रदेशमा बहुमतका लागि आवश्यक ४७ सांसद पुर्याउन माओवादी केन्द्रबाट सभामुख भएका बाबुराम गौतमले राजीनामा दिँदैछन्। सोही विषयप्रति एमालेले आपत्ति जनाएको हो।
एमाले कोशी संसदीय दलका सचेतक रेवतीरवण भण्डारीले नेपाल लाइभसँग कुरा गर्दै भने– ‘गम्भीर आपत्तिजनक विषय हो। सत्ता प्राप्तिको लागि सभामुख जस्तो गरिमामय संस्थालाई बदनाम गराउने काम हुन लागेको छ।’
सांसद भण्डारीले सभामुखले राजीनामा दिँदैमा नयाँ बन्ने सरकारलाई सहज नहुने दाबी गरे। ‘बहुमत पुगेर पनि सत्ता संचालन गर्ने, सदन संचालन हुन पनि कठिनाइ नै हुन्छ। त्यस्तो कठिनाइलाई बेवास्ता गरेर उहाँहरुले सभामुख पद र गरिमालाई नै अन्त्य गर्ने काम गर्नुहुन्छ भने त्यो उहाँहरुको कुरा हो। त्यो उपयुक्त कदम होइन,’ भण्डारीले टिप्पणी गरेका छन्।
मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार साँझसम्मको समय दिएका छन्। कांग्रेस–माओवादी गठबन्धनले बहुमतका लागि ४७ सांसद पुर्याउन निर्णयक रहेको मतका लागि सभामुखको राजीनामा गराएर संख्या पुर्याउँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।