काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशको सरकार गठनका लागि कांग्रेस–माओवादी केन्द्रको सत्ता गठबन्धनले संवैधानिक संकट निम्त्याउने काम गरेको आरोप लगाएका छन्।
गठबन्धनको बहुमत पुर्याउनका लागि माओवादी केन्द्रबाट सभामुख भएका बाबुराम गौतमले मंगलबार राजीनामा दिँदैछन्। मंगलबार साँझसम्ममा सोही गठबन्धनले मुख्यमन्त्रीमा दाबी गर्ने तयारी छ।
सभामुखलाई राजीनामा गराएर सरकारको दाबी गर्न तयार भएको गठबन्धनले संवैधानिक जटिलता ल्याउने काम गर्न लागेको लिङ्देनले आरोप लगाएका हुन्।
सोमबार बिहान विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै लिङ्देनले उक्त आरोप लगाएका हुन्।
‘एउटा प्रेदशको सत्ता टिकाउनका लागि वा प्राप्त गर्नका लागि संवैधानिक संकट निम्त्याउँदै छन्,’ लिङ्देनले भने।
अध्यक्ष लिङ्देनले सत्ता गठबन्धनले तयारी गरेअनुसारको परिस्थिति नबन्ने पनि चेतावनी दिएका छन्।
‘सभामखुको राजीनामा गराएर जसरी पनि सत्ता लिने भन्ने कुराले के हुन्छ भने उपसभामुखले पनि फेरि रजीनामा दिनु होला। ज्येष्ठ सदस्यलाई मन्त्री बनाउने भन्दै हुनुहुन्छ उहाँहरुले, त्यसपछि एमालेकोले खुरुक्कै अध्यक्षता गरिदिन्छ त? एमालेको अनुपस्थित भइदिन्छ। राप्रपाकोले गर्ला भन्ने होला उ पनि अनउपस्थित होइदेला,’ लिङ्दनेले भनेका छन्।
अध्यक्ष लिङ्देनले यो संविधान भित्रैकै त्रुटि रहेको पनि औंल्याएका छन्। संविधानलाई अपरिवर्तनशील भनेकै कारण यस्ता समस्याका समाधान हुन नसक्ने उनको ठम्याइ छ।
‘त्यसपछि के गर्ने भन्ने त संविधानले कल्पनै गरेको छैन। त्यो कसले निम्त्यायो भन्दा जसले संविधानलाई चाहिँ गीता, बाइबल जस्तो छुनै हुँदैन, विरोध गर्ने हुँदैन, यो भन्दा सर्वोत्कृष्ट संविधान नै छैन भन्नेले नै संविधानलाई जटिलतामा लाने काम गर्दैछन्,’ उनको प्रतिक्रिया छ।
लिङ्देनले आफूहरु सरकार गठन प्रक्रियामा तटस्थ बस्ने पनि बताएका छन्। उनले भने, ‘राप्रपा तटस्थ बस्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।