काठमाडौं– नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुन राजी भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समेतको उपस्थितिमा भएको छलफलमा नाउपा प्रदेश सरकारमा सहभागी हुन तयार भएको हो।
नाउपाले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुन न्यूनतम २ वटा मन्त्रालयको नेतृत्व दिइनुपर्ने बताउँदै आएको थियो। यद्यपि १ मन्त्री, २ मन्त्री र २ वटा प्रदेश सभा समितिको सभापति पाउने गरी नाउपा सरकारमा जान तयार भएको हो।
नाउपाले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र १ राज्यमन्त्री पाउने भएको छ। यस्तै, प्रदेश सभाका २ वटा समितिको सभापति पाउने सहमति भएको सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री नरेश शाहीले जानकारी दिए।
नाउपाले सरकारमा सहभागी हुन २ मन्त्रालय पाउनैपर्ने अडान राखेपछि सहमति हुन सकेको थिएन। जसकारण प्रदेश सरकारले पूर्णता पाउन सकेको थिएन।
नाउपालाई सरकारमा सहभागी गराउने विषयमा सहमति जुटाउन मुख्मन्त्री कमल बहादुर शाह नै काठमाडौं आएका थिए। मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, मुख्यमन्त्री शाह, संघीय सरकारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रहेकी नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी, नाउपाका संरक्षक एवम् अध्यक्ष रञ्जिताका पति रेशम चौधरी सहितको उपस्थितिमा सहमति जुटेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।