काठमाडौं– नेकपा एमालेले मंगलबार पनि संसद्को अवरोध कायम राख्ने भएको छ। सरकारले आफ्नो मागलाई लिएर गम्भीरता नदेखाएको भन्दै एमालेले संसदको अवरोध जारी राख्ने भएको हो।
एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले सरकार संसद् चलाउने पक्षमा नरहेको आरोप लगाए। उनले भने, ‘सरकार संसद् चलाउने पक्षमा देखिएन। सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनाइ संसद् अगाडि बढ्न नसक्ने हाम्रो अडान कायम छ।’
१०० किलो सुन विमानस्थलबाहिर पक्राउ परेको विषयलाई लिएर एमालेले साउन १० गतेदेखि संसद अवरोध गरिरहेको छ। उच्चस्तरीय छानबिन समितिको माग गर्दै संसदलाई नियमित कार्यसूचीमा प्रवेश गर्न रोकेपछि सभामुख देवराज घिमिरेले १५ गतेसम्मका लागि स्थगित गरेका थिए।
साउन १५ गतेको कार्यव्यवस्था समितिमा गतिरोध अन्त्यका विषयमा सहमति नजुटेपछि मंगलबार दिउसो १ बजेसम्मका लागि स्थगित गरिएको छ। यो बीचमा कुनै संवाद र प्रगति नभएको बर्तौलाले जानकारी दिएका छन्।
सदन सञ्चालनको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए। बालुवाटारमा भएको छलफलका क्रममा गृहमन्त्री श्रेष्ठले जवाफ दिने र एमालेले सदन सञ्चालन गर्न दिने भन्ने सहमति भएको बताएको थियो।
तर, पछि एमाले नेताहरुले उच्चस्तरीय समिति गठनको मागलाई छाड्न नसकिने बताएपछि सहमति भाँडिएको बताइएको थियो। जसकारण सोमबारका लागि तय भएको प्रतिनिधि सभा बैठक बस्न सकेन।
एमालेले सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राखे पनि सत्ता पक्षले भने राज्यका हाल कायम निकाय नै अनुसन्धानका लागि सक्षम रहेको बताउँदै आएको छ। यसअघि पनि सुन तस्करी प्रकरण लगायतका अपराध अनुसन्धानमा उच्चस्तरीय समिति बनेको, तर त्यस्ता समितिको अनुसन्धानले प्रतिफल दिन नसकेकाले राज्यका स्थापित निकायबाटै अनुसन्धान हुने सरकार पक्षको जिकिर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।