काठमाडौं– मधेश प्रदेश सरकार पाँचौं पटक विस्तार भएको छ। मुख्यमन्त्री सरोजकुमार यादवले सरकार विस्तार गर्दै सोमबार दुईजना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए।
कांग्रेसबाट गृह, सञ्चार तथा कानुनमन्त्रीमा मोहमद समिमले शपथ लिएका छन् भने जनमतबाट श्रम तथा यातायात मन्त्रीमा चन्दन सिंह र राज्यमन्त्रीमा रंजु खगले शपथ लिए।
समिम सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ को ‘क’बाट निर्वाचित सांसद हुन्। सिंह समानुपातिक सांसद हुन्। मन्त्रिपरिषद् विस्तार भएपछि सरकारले पूर्णता पाएको छ।
तर, जसपाबाट मन्त्री बनेकी सुरिता साहले अझै जिमेवारी पाएकी छैनन्। मुख्यमन्त्री यादवले एक मन्त्रालय फुटाएर सुरितालाई जिमेवारी दिने तयारी गरेका छन्।
जनमत पार्टीबाट मन्त्री बनेका बसन्त कुशवाह र राज्यमन्त्री सञ्जय यादवले सोमबार पार्टीको निर्देशन अनुसार राजीनामा दिएका थिए। जनमतबाट शिक्षा तथा समाज कल्याणमन्त्रीमा महेशप्रसाद यादव यथावत छन्।
गत जेठ ११ गते कुशवाह र यादवको जिमेवारी पनि खोसिएको थियो। कुशवाहले सम्हालेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय खोसेर एकीकृत समाजवादीका गोविन्द न्यौपानेलाई नियुक्त गरिएको थियो। त्यसपछि कुशवाहा र उक्त मन्त्रालयका राज्यमन्त्री यादव बिना विभागीय मन्त्री थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।