काठमाडौं- निर्वाचन खर्च बुझाएर सार्वजनिक गरेता पनि निर्वाचन आयोगमा पनि त्यसको जानकारी नगराएको भन्दै आयोगले जरिवाना तोकेका एक जना उम्मेदवार विनोदमणि भट्टराईले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। सोमबार दर्ता भएको रिटको मंगलबारका लागि पेशी तोकिएको छ।
आयोगको सूचना अनुसार आफूले २०८० वैशाख १३ मा फेसबुकबाट खर्च विवरण सार्वजनिक गरी आफ्नो दायित्व पूरा गरेर ढुक्क भएको बसेको निवेदक भट्टराईले उल्लेख गरेका छन्।
रिट निवेदनमा आयोगले सन्दर्भमा लिएको निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा ३१ को उपदफा (२) मा 'आम्दानी र खर्चको विवरण सम्बन्धित सबैको जानकारीका लागि आयोगले तोके बमोजिम सार्वजनिक गर्नुपर्नेछ' भनिएको भए पनि उक्त दफामा कहीँकतै पनि सार्वजनिक गरेकोबारे आयोगलाई जानकारी गराउनुपर्ने नभनिएको उल्लेख छ।
रिट निवेदनमा आयोगबाट आफूलाई १५ हजार रुपैयाँ जरिवाना गरेको निर्णय, उक्त निर्णय बमोजिम प्रकाशित सूचना समेतका काम कारबाहीहरू गैरकानुनी भएकाले उक्त निर्णय एवं पत्राचार समेतका कार्य प्रथम दृष्टिमा नै बदरभागी रहेको हुँदा उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।