काठमाडौं– नेकपा (माओवादी केन्द्र)ले पनि केन्द्रीय समितिको बैठक लाइभ गर्ने भएको छ।
सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो। बैठकले साउन १७ गतेदेखि सुरु हुने केन्द्रीय समितिको बैठक लाइभ गर्ने निर्णय गरेको सचिव दीनानाथ शर्माले जानकारी दिए।
यसअघिका बैठक लाइभ हुने गरेका थिएनन्। गत साउन २ गतेदेखि एक साता चलेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक लाइभ गरिएको थियो। कांग्रेसपछि सत्ता साझेदार दल माओवादीले पनि बैठकमा प्रत्यक्ष प्रसारणको अभ्यास गर्न लागेको हो।
विधान सम्मेलन मंसिरमा
माओवादी केन्द्रले विधान सम्मेलन गर्ने तयारी गरेको छ। पार्टी पदाधिकारीको बैठकमा केन्द्रीय समितिको बैठकमा त्यसबारे प्रस्ताव लैजाने निर्णय भएको शर्माले बताए ।
विधान सम्मेलनको प्रस्ताव केन्द्रीय समितिमा लैजाने कुरा भएको र मंसिरमा विधान सम्मेलन गरिने जानकारी उनले दिए।
उनका अनुसार विशेष महाधिवेशन गर्ने विषयमा पनि बैठकमा छलफल भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।