काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारसँग भेट गर्दै संसद्को जारी अवरोध खुलाउनका लागि सहयोग गर्न आग्रह गरेका छन्। प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका परियारसँग उनले संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिमा रहेको संक्रमणकालीन न्याय सम्बन्धी विधेयकका बारेमा पनि चासो राखेका थिए।
‘बिहान प्रधानमन्त्रीसँग भेट भएको छ। प्रधानमन्त्रीले संसद्को जारी अवरोध खुलाउनेदेखि समितिमा रहेका विधेयकहरु टुंग्याउनेसम्मका विषयमा छलफल भएको छ,’ प्रमुख सचेतक परियारले भने, ‘प्रधानमन्त्रीलाई संसदीय समितिमा सभापतिहरु चयन छिटो गरिदिन आग्रह गरेको छु।’
प्रधानमन्त्री प्रचण्डले सरकारले संसद्को अवरोध खुलाउन के गर्नुपर्छ भनी जिज्ञासा राखेका थिए। रास्वपाका सचेतक परियारले संसद्मा रहेका सबै दलसँग कुरा गरेर अवरोध खुलाउन सकिने भन्दै संसद्लाई प्रभावकारी बनाउने कार्यमा भूमिका खेल्न आग्रह गरे। उनले संसद्का कुनै पनि समितिमा हालसम्म सभापति चयन नभएको र जसले गर्दा यसको प्रभावकारीतामा प्रश्न उठेकाले यसलाई छिट्टै टुंग्याउन अनुरोध गरेको बताए।
‘कुनै पनि संसदीय समितिमा सभापति चयन भएको छैन। संसद्को सबै बिलहरु समितिमा छन् तर सभापति नहुँदा प्रभावकारी भएन,’ उनले भने, ‘सभापति चयन छिट्टै टुंग्याउने पहल सरकारका तर्फबाट हुनुपर्छ।’
सरकारले भ्रष्टाचारका विषयमा चालेको कदममा रास्वपाको समर्थन रहेको र यसअघि पार्टी सभापतिले समेत भनेकाले भ्रष्टाचारको कदममा निर्धक्क भएर अघि बढ्न प्रधानमन्त्रीलाई आग्रह गरेको उनले बताए। तर भ्रष्टाचारको छानबिन जरासम्म पुग्नु पर्ने र शक्तिशाली र ठूला व्यक्ति आएपछि पछि हट्ने कार्य हुन नहुने कुरा प्रधानमन्त्रीलाई बताएको परियारले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।