काठमाडौं– प्रतिनिधि सभा बैठक सञ्चालन हुन दिने/नदिने विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा अलमल देखिएको छ। यसअघि साउन १० गतेको बैठकमा एमालेले १ क्विन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने मागसहित अवरोध सिर्जना गरेको थियो।
१० गते एमालेको अवरोधका कारण स्थगित भएपछि प्रतिनिधि सभाको बैठक आज (आइतबार) बस्दैछ। आइतबारको बैठकका सम्भावित ५ वटा कार्यसूची तय भएका छन्।
सुन प्रकरणका विषयलाई लिएर एमालेले नाराबाजी गर्दै वेल घेराउ गरेपछि साउन १० गतेको संसद् स्थगित भएको थियो। उक्त अवरोधलाई निरन्तरता दिने वा प्रतिनिधि सभा चल्न दिने भन्ने विषयमा एमालेले स्पष्ट निर्णय गर्न सकेको छैन।
पूर्व सभामुख तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले आफूहरुले घोषित रुपमा संसद् अवरुद्ध नगरेको बताएका छन्। नेपाल लाइभसँग कुरा गर्दै उनले भने, ‘सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिनको माग जोडदार रुपमा उठाउने क्रममा संसद् अवरुद्ध हुन पुग्यो।’
आइतबार पनि उक्त विषय आफूहरुले जोडदार रुपमा उठाउने उनले बताए। संसद्लाई प्रभावकारी बनाउने विषयमा सत्ता पक्षले ध्यान पुर्याउनुपर्ने नेम्वाङको भनाइ छ।
नेम्वाङले मन्त्रीहरुको राजीनामा एमालेले नमागेको पनि स्पष्ट पारे। उक्त प्रकरणमा नाम मुछिएकाले नैतिक दायित्व महसुस गरेर पदबाट अलग हुने कुरा मन्त्रीहरु (गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महत)को व्यक्तिगत विषय रहेको नेम्वाङले बताए।
आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो। भेटवार्तामा यस विषयमा कुराकानी भएर कुनै निष्कर्ष निस्किएको आफूलाई जानकारी नरहेको नेम्वाङले बताए।
एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले भने प्रतिनिधि सभामा लिने रणनीतिका विषयमा आफूहरु छलफलकै क्रममा रहेको बताए। १०० किलो सुन विमानस्थलबाट बाहिरिएर सिनामंगल पुगेको कुरालाई लिएर आफूहरुको अडान भने कायम रहेको बर्तौलाको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।