काठमाडौं- संसदीय समितिहरुको सभापति चयन नभएकोमा असन्तुष्ट रहेको एमालेले त्यसबारे सभामुख देवराज घिमिरेलाई ध्यानाकर्षण गराउने भएको छ।
आइतबार एमाले सांसद योगेश भट्टराईको नेतृत्वमा एमाले सांसदको टोलीले सभामुखलाई भेट्न उनको कार्यकक्षतिर गएको थियो। तर सभामुख बिदामा रहेका कारण भेट भने हुन सकेन।
'सभामुखज्यू बिदामा हुनुहुँदो रहेछ,' एमालेका एक सांसदले नेपाल लाइभसँग भने, 'त्यसले अहिलेलाई फोनबाटै जानकारी गराउने भन्ने भएको छ।'
आइतबारको सार्वजनिक लेखा समितिको बैठकमा पनि भट्टराईले सभापति चयनको विषय उठाएका थिए। उनले भागबण्डा नमिलेकै कारण सभापति चयन हुन नसकेको हो भने आफ्नो पार्टीलाई नचाहिएको तर सभापति भने चयन हुनुपर्ने बताएका थिए।
आइतबारै एमाले सांसदहरुले संसदीय दलका उपनेता सुवास नेम्वाङसँग पनि छलफल गरेका थिए। नेम्वाङले पनि सभापति चयन नहुँदा समिति बैठकहरु प्रभावकारी हुन नसकेको भन्दै सभामुख घिमिरेको ध्यानाकर्षण गराएका थिए।
'समिति बैठक बसिरहने तर सभापति नभएका कारण त्यसको प्रभावकारिता नहुने भएपछि बैठकमा एमालेका सांसदहरु किन आइरहनुपर्यो?,' उनको प्रश्न उद्धृत गर्दै ती सांसदले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।