काठमाडौँ- उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार भ्रष्टाचार र ढिलासुस्तीको विपक्ष र सुशासनको पक्षमा अझ दृढताका साथ प्रस्तुत हुने बताएका छन्। नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ६ को क्षेत्रीय सम्मेलनमा शनिबार बोल्दै कांग्रेस उपसभापति खड्काले भ्रष्टाचार नियन्त्रण र सुशासनको कामलाई सरकारले अभियानकै रुपमा अघि बढाउने स्पष्ट पारे।
उपप्रधानमन्त्री खड्काले भने, ‘सरकारले केही कामको सुरुआत गरेको छ। खासगरी भ्रष्टाचार नियन्त्रण र सुशासनका पक्षमा दृढताका साथ अघि बढ्दै जनताले अनुभव गर्ने गरी काम गर्नेछ।’
विकास निर्माणका ढिलासुस्तीदेखि पुँजीगत खर्च न्यून हुने अवस्था अन्त्यका लागि सरकारले कठोर कदम चाल्ने तयारीमा रहेको उनले दाबी गरे। जनताले दैनिक सेवा लिने ठाउँलाई व्यवस्थित गर्दै सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउनु सरकारको उच्च प्राथमिकता रहेको उनको भनाइ थियो।
उपप्रधानमन्त्री खड्काले गलत काम भए खुला रुपमा आलोचना गर्न र सुधारका लागि सुझाव दिन समेत आग्रह गरे। उनले यतिबेला नेपाली राजनीतिको मियो नेपाली कांग्रेस रहेको भन्दै संविधान र लोकतन्त्रका पक्षधर सबै शक्तिलाई साथमा लिएर जाने दायित्व कांग्रेसको भएको बताए।
कांग्रेस रुपान्तरण भनेर हल्लाभन्दा पनि काम गर्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘देश र जनताप्रति इमानदार भएर काम गरौँ, पारदर्शी बनौँ। बोली र गराइमा एकरुपता ल्याऔँ। जनताको घरदैलोमा पुगौँ, जनतालाई मालिक मानेर काम गरौँ।’ पार्टीका नेता तथा कार्यकर्तालाई सधैँ साथमा लिएर हिँड्न र हरेक काममा खटिनेहरुलाई सम्मान गरेर पार्टी रुपान्तरण गर्न सकिने उनले बताए।
नयाँ तथा पुराना कुनै पनि राजनीतिक दललाई गाली नगर्न कांग्रेस नेता तथा कार्यकर्तालाई आग्रह गर्दै उनले देश र जनताको सेवालाई सर्वोपरि मानेर काम गर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।