काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन प्रकरणमा सरकारले ट्याक्सीलाई बाटैमा समातेकोमा असन्तुष्टि जनाएका छन्। शनिबार आयोजित एक कार्यक्रममा बोल्दै सुनको मालिकसम्म नपुगेकोमा सरकारप्रति असन्तुष्टि गरेका हुन्।
'त्यो ट्याक्सीले सुन त मालिकसम्म लैजान्थ्यो होला नि। कहीँ गन्तव्यमा जाँदैथियो होला', लामिछानेले भने, 'बीच बाटोसम्मको खबर पाउनेले, भरिया समाउन सक्नेले, मालिकसम्म किन पुगेन होला!'
लामिछानेले आफूहरु त्यो सुनको मालिक कुरेर बसेको बताए। 'हामी मालिक हेर्न बसेका छौँ। त्यो सुनको मालिकचाहिँ को रहेछ, सरकार त्यो मालिकसम्म पुगोस्। जुन ढंगले सुन आएको छ, त्यो हेर्दा त सानोतिनो मालिक त होइन। धेरै ठूलो मालिकजस्तो लागेको छ। धेरै ठूलो मालिक देख्नेबित्तिकै अर्को फाइल खोल्नतिर लाग्ने हो कि।'
उनले एउटा काण्डको छानबिन टुंगोमा नपुर्याइ अर्को काण्डको फाइल खोल्ने गरेको भन्दै सरकारप्रति कटाक्ष गरे। 'भन्नलाई त हामीले ललिता निबास पनि खोल्यौँ, हामीले सुन काण्ड पनि खोल्यौँ, हामीले नक्कली भुटानी शरणार्थी पनि खोल्यौँ भन्ने। अनि खोल्नका लागि खोल्ने। फाइलका दुई चार वटा पाना मात्रै खोल्ने, पछिल्लो पानासम्म नपुग्ने काम त कतै सरकारले गरिरहेको छैन?', उनको प्रश्न थियो।
लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी नजिकबाट सबै चिज हेरिरहेको भन्दै खबरदारी व्यक्त गरे। उनले भने, 'कुनै पनि काण्डको जरासम्म नपुगुञ्जेलसम्म संसद्मा पनि खरो रुपमा उपस्थित हुन्छ। आवश्यक परे जनमानसमा पनि खरो रुपमा उपस्थित हुन्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।