काठमाडौं– बालेन्द्र शाह (बालेन) प्रमुख (मेयर) निर्वाचित भएपछि काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सार्वजनिक जग्गाहरुको संरक्षण अभियानलाई ब्यापक बनायो।
बालेन मेयर बनेको १ वर्षभन्दा बढी समय भइसक्दा धेरै ठाउँमा अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गाहरुमा बनेका संरचना हटाइएका छन्।
धोबिखोलाको किनारदेखि बालुवाटारको ललिता निवासको अतिक्रमण हटाउन भनेर महानगरपालिकाले सक्रियता देखायो।
कतिपय ठाउँमा डोजर लगाएर संरचना हटाइयो, कतिपय ठाउँमा संरचना बनाउनेहरुले नै महानगरको ताकेता मानेर आफैं संरचना हटाए।
सार्वजनिक जग्गामा बनाइएका अवैध संरचना र नक्सापास तथा नियम विपरीत बनाइएका संरचना हटाउन महानगरले डोजर परिचालमा देखाएको सक्रियतालाई जनस्तरबाट समर्थन पनि मिल्यो। काठमाडौं महानगरले संरचना हटाउने अभियान चलाउँदा सर्वसाधारणले एउटा विम्व बनाएर त्यसलाई बुझे, ‘बालेनको डोजर’ भन्दै।
संरचना हटाउनमा जुन सक्रियता देखिएको थियो, त्यसपछिको व्यवस्थापनमा भने महानगरबाट खासै पहलकदमी नभएको स्थानीयले बताउन थालेका छन्। संरचना हटाएकामध्ये अधिकांश सार्वजनिक जग्गामा त्यसपछि गर्नुपर्ने काममा महानगरले खासै वास्ता गरेको छैन। बालेनको डोजरले भत्काएका, तर पूर्ण रुपमा व्यवस्थापन नगरिएका ‘अवैध’ संरचनाहरु अहिले सर्वसाधारणका लागि धराप जस्तै बनेका छन्।
सडक छेउका संरचनामा डोजर चलाइए पनि त्यसलाई पूर्ण रुपमा व्यवस्थित गरिएको छैन। जसका कारण सडकमा गुड्ने सवारी र फुटपाथमा पैदल हिँड्ने पैदलयात्रीले जुनसुकै बेला दुर्घटना भोग्नु पर्ने कारक ति संरचनाहरु बनिरहेका छन्।
कतिपय ठाउँमा संरचना हटाउँदा जम्मा भएको माटो, ढुङ्गा लगायतका वस्तुहरु हटाइएको छैन। जसका कारण धेरै ठाउँमा फुटपाथमा डुङ्गा, माटो जम्मा गरेर राखिएको छ।
सार्वजनिक जग्गाको संरक्षण गर्ने भन्दै डोजर चलाएर संरचना भत्काइए पनि त्यसपछि वास्ता नगर्दा सर्वसाधारणले सास्ती खेप्नु परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।