काठमाडौं- कोशी प्रदेशका सभामुख बाबुराम गौतमले आफूले सभामुखबाट राजीनामा नदिने बताएका छन्। उनकोसमेत हस्ताक्षरबाट गठन भएको कोशी प्रदेश सरकार बिहीबार विघटन भएपछि उनले राजीनामा नदिने प्रतिक्रिया दिएका हुन्।
‘राजीनामा दिन्नँ। किनकि, विपक्षीले राजीनामा मागेका छैनन्। सर्वोच्चले पनि राजीनामा दिनु भनेको छैन’, बिहीबार सर्वोच्चको फैसला सार्वजनिक भएपछि नेपाल लाइभसँग कुरा गर्दै उनले भने।
नयाँ सरकार गठनका लागि दाबी पेस गर्नुअघि सभामुखबाट राजीनामा दिने र दलीय सांसदको रुपमा सघाउने चर्चालाई पनि उनले खारेज गरे।
‘बहुमत जुटाउनका लागि सभामुखबाट राजीनामा दिएर दलीय सांसदको रुपमा सघाउने सम्भावना पनि छैन’, उनले भने, ‘त्यो गर्दा पनि दीगो हुँदैन। त्यसले पनि अस्थिरता र विकृति निम्याउँछ।’
उनले सर्वोच्चको फैसलालाई स्वागत गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।