काठमाडौं- कोशी प्रदेशमा नेकपा एमालेका हिक्मतबहादुर कार्की नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि ढल्यो। त्यसपछि नेपाली कांग्रेसका उद्धव थापा नेतृत्वमा सत्ता गठबन्धनको सरकार बन्यो।
सर्वोच्च अदालतले थापा सरकार गठन प्रक्रिया नै अवैधानिक रहेको ठहर गरेको छ। सरकारविहीनताको परिकल्पना संविधानले नगरेकाले अर्को सरकार गठन नभएसम्म कामचलाउ सरकार कसको भन्ने प्रश्न उठेको छ।
कोशी प्रदेश सभाका सभामुख बाबुराम गौतमसहितको हस्ताक्षरबाट बहुमत पुर्याएर थापाले सरकार बनाएका थिए। प्रदेश प्रमुख पर्शुराम खापुङले सभामुख गौतमको हस्ताक्षर सकारेर मुख्यमन्त्रीमा कार्कीलाई नियुक्ति गरेका थिए।
बराबरी भएको अवस्थामा सभामुखसँग निर्णायक मत दिने अधिकार मात्रै रहेको भन्दै नेकपा एमालेका तर्फबाट सर्वोच्चमा मुद्दा दायर भयो। सर्वोच्च अदालतले सरकार निर्माण प्रक्रियामा सभामुखको सहभागितालाई अवैधानिक भनेको छ। यससँगै थापा नेतृत्व सरकार 'अवैधानिक' ठहर भएको छ।
एउटा सरकार विश्वासको मत नपाएर ढल्नु र त्यसपछिको सरकार अवैधानिक ठहर भएपछि कोशी प्रदेशको काम चलाउ सरकारको मुख्यमन्त्री को? भन्ने प्रश्न उब्जिएको छ। संविधानले सरकार विहीनताको परिकल्पना नगरेकाले उक्त अन्योल सिर्जना भएको हो। नेकपा एमाले कोशी संसदीय दलका प्रमुख सचेक रेवतीरमण भण्डारी सरकार विहीनताकै अवस्था रहेको बताउँछन्।
उनी भन्छन्, 'सर्वोच्चले अहिलेको सरकारलाई अवैधानिक भन्यो। पहिलेको विश्वासको मत नपाएकाले सरकारविहीनता देखियो। त्यही कारणले सात दिनभित्र सरकार गठन गर्न आदेश गरिएको हो।'
सर्वोच्च अदालतले अर्को सरकार नबनुन्जेलसम्म मुख्यमन्त्री को हुने भन्ने विषयमा केही बोलेको छैन। संविधानविद् विपिन अधिकारी भने थापा नेतृत्वकै सरकार कामचलाउ रहने बताउँछन्। उनी भन्छन्, 'सरकार भनेको यही हो। असंवैधानिक पनि भनिएकाले कामकाज चाहिँ गर्नुभएन। संविधानले सरकार विहीनताको परिकल्पना नगरेकाले कामचलाउ सरकार थापाकै नेतृत्वमा रहन्छ।'
संवैधानिक कानुनका जानकार अधिवक्ता भीमार्जुन आचार्यले भने विश्वासको मत प्राप्त गर्न नसकेको सरकार (हिक्मतबहादुर कार्की नेतृत्वको) कामचलाउ हुने तर्क गरेका छन्। उनी भन्छन्, 'कोशी सरकार गठन प्रक्रिया नै असंवैधानिक भएको र सरकारको रिक्तता/शून्यताको परिकल्पना संविधानले नगर्ने हुँदा अर्को सरकार गठन नभएसम्मका लागि विश्वासको मत प्राप्त गर्न नसकेको सरकार नै कामचलाउ सरकारको रूपमा रहन्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।