काठमाडौं– उद्धव थापा नेतृत्वको सरकारलाई सर्वोच्चको पछिल्लो फैसलाले असंवैधानिक घोषणा गरिदिएपछि विपक्षीहरुले सर्वोच्चलाई धन्यवादसहित स्वागत गरेका छन्।
सर्वोच्चको फैसलापछि नेपाल लाईभसँग संक्षिप्त प्रतिक्रिया दिँदै एमाले प्रदेश सांसद तथा पूर्वमन्त्री तिलकुमार मेन्याङ्बोले सो प्रकरणलाई सबैले असंवैधानिक भनेको र सर्वोच्चले पनि भनिदिएको भन्दै धन्यवादसहित स्वागत गरेका छन्।
‘आमरुपमा असंवैधानिक कदम भनिएकै थियो सर्वोच्चले बदर गरिदिएको छ। यसलाई स्वागत गर्नैपर्छ,’ उनले भने,‘अब सर्वोच्चले दिएको समय सीमाभित्र ४७ जुटाउने प्रयास रहन्छ।’
यस्तै, राप्रपा कोशी संसदीय दलका नेता तथा पूर्वमन्त्री भक्तिप्रसाद सिटौलाले पनि सर्वोच्चलाई धन्यवाद दिँदै स्वागत गरेका छन्।
‘सर्वोच्चको फैसलालाई स्वागत गर्छौं। धन्यवाद। अब हामी अन्यदलहरुसँग छलफल गरेर सर्वोच्चले भने बमोजिम धारा २ अनुसारकै सरकार गठनका लागि प्रयास गर्छौं,’ सिटौलाले भने।
सिटौला संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठन हुन नसकेमा सोही धाराको उपधारा ३ बमोजिम सरकार बन्ने जनाउँछन्। ‘त्यहाँ पनि भएन भने धारा ५ मा हुँदै अन्य विकल्प हुँदै जान्छन्,’ सिटौलाले संक्षिप्त प्रतिक्रिया दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।